काठमाडौं। प्रभु बैंक लिमिटेडका पूर्व अध्यक्ष तथा प्रभु ग्रुपका अध्यक्ष सांसद देवी प्रकाश भट्टचन र उनकी व्यवसायीक साझेदार कुशुम लामाबीचको विवाद चुलिएको छ। जसका कारण प्रभु बैंक लगायत अन्य बैंक तथा वित्तीय सँस्थाबाट प्रभु ग्रुपका विभिन्न प्राइभेट कम्पनीमा प्रवाह भएको कर्जा जोखिममा परेको छ। प्रभु ग्रुपका नामबाट विभिन्न प्राइभेट कम्पनी संचालन गर्दै आएका अध्यक्ष भट्टचन र तत्कालिन उपाध्यक्ष लामाबीचको आर्थिक लेनदेनको विवाद बैंक, नेपाल राष्ट्र बैंक,सिआईबी अख्तियारहुँदै अदालतसम्म पुगेको छ।
केहि समय अघिसम्म व्यवसायीक साझेदार भएर काम गरेका भट्टचन र लामाबीच यतिबेला पानी बराबारसम्मको स्थितिमा छ। भट्टचन र लामाले विभिन्न बैंक तथा वित्तीय सँस्थाबाट अर्बौ रुपैयाँ रकम कर्जा लिएका छन्। तर उक्त रकम कसले तिर्ने भन्ने बिषयमा उनीहरु एक-अर्कालाई देखाएर पन्छिने गरेका छन्। हाल भट्टचन र लामा प्रभु ग्रुपबाट आ-आफ्नो हिस्सा लिएर अलग भई काम गरिरहेका छन् । तर बैंक तथा वित्तीय सँस्थाको ऋण तिर्ने बिषयमा भने उनीहरुबीच ठूलो विवाद छ।
यी दुईबीचको विवादकै कारण प्रभु ग्रुपबाट संचालन भएका कम्पनी प्रभु मेनेजमेन्ट, प्रभु पे, प्रभु मनिट्रान्सफर, नेपाल सिपिङ, प्रभु टेक्नोलोजी, प्रभु कोअपरेटिभ, प्रभु हेलिकप्टर लगायतका सबै कम्पनीहरु धरासायी अवस्थामा पुगेका छन्। फलस्वरूप प्रभु बैंकका ग्राहकको अर्बौ रुपैयाँ निक्षेप जोखिममा छ।
प्रभु मेनेजमेन्टलाई ४ वटा बैकले करिब ७२ करोड कर्जा दिएका छन्, जुन रकम डुब्ने अवस्थामा छन्। ती मध्ये २ वटा बैकले ३५ दिने सूचना निकाल्ने तयारी गरेको जनाएका छन्। जसमध्ये प्रभु बैंक लिमिटेडबाट मात्रै करिब ३३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।

२०७८ साल अरोज ६ गते बैंकका संस्थापक भट्टचनको व्यक्तिगत जमानीमा बैंकले यस कम्पनीका नाममा २७ करोड रुपैयाँ (bridge gap loan) १ बर्षका लागि स्वीकृत गरेको छ। विभिन्न कम्पनीमा लगानी गर्ने भन्दै लिइएको उक्त रकम दिव्य सेक्युरिटीज र स्टक हाउस प्रा.लिलाई भुक्तान गरेको पाईएको छ।
कम्पनीले यसअघिनै ६ वटा वाणिज्य बैंकबाट बहु बैंकिङ कर्जा लिइसकेको छ। तर यस्तो अवस्थामा समेत पारीपासु अर्थात सहवित्तीयकरण सम्झौता नै नगरी कर्जा प्रवाह गरिएको देखिन्छ। जसका कारण बैंक तथा वित्तीय सँस्थाको कर्जा जोखिम बढेको छ।
२०८० साल चैत मसान्त सम्म प्रभु मेनेजमेन्टले लिएको कर्जा मध्य बिज ग्याप कर्जाको ब्याज समेत १८० दिनभन्दा बढी, र ओभरड्राफ्ट कर्जाको ब्याज ३६५ दिन भन्दा बढीले ओभरड्यु भैसकेको छ, अर्थात् कर्जाको साँवा त परै जावोस ब्याज समेत चुक्ता गरेको छैन। तर बैंकले यस कर्जाको उठाउन हालसम्म कुनै पनि प्रकृया अपनाएको छैन।
प्रभु मेनेजमेन्टलाई तत्कालिन सेन्चुरी कमर्शियल बैंकबाट २० ०७७ /९ /५ मा २० करोड ८६ लाख रुपैयाँ बराबरको ओभड्राफ्ट कर्जा प्रवाह गरिएको छ। उक्त रकम कुमारी बैंकमा रहेको मेनेजमेन्टको खातामा ट्रान्सफर गरिएको देखिन्छ।
प्रभु मेनेजमेन्ट कम्पनीको नेटवर्थ नेगेटिभ भएको तथ्यलाई वेवास्ता गर्दै प्रभु बैंकबाट किन यति ठूलो रकम ऋण प्रवाह गरियो भन्ने बिषयमा नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणले समेत प्रश्न गरेको छ। यस कम्पनीमा प्रवाह भएको कर्जा व्यवसायिक तालुक नराख्ने सहायक कम्पनीमा खर्च गरी कर्जाको दुरुपयोग भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। तसर्थ बैंकबाट यस कम्पनीको कर्जालाई नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका २०८० को ३ (ग) अन्तर्गत नोक्सानी शेणीमा राखिएको राष्ट्र बैंकले जनाएको छ।
प्रभु मेनेजमेन्टले रेमिटेन्स भुक्तानी एजेन्टको काम गर्ने गरेको छ। यस कम्पनीले प्रभु रेमिटमार्फत नेपाल भित्रिने रकम ग्राहकलाई तिर्ने काम गर्दै आएकोमा अध्यक्ष भट्टचनले सो रकम मेनेजमेन्टलाई भुक्तान नगरेको भन्दै विभिन्न सहकारीबाट लिएको रकम भट्टचनले फिर्ता दिएपछि तिर्ने भन्दै लेखेका पत्र समेत अर्थासंजालले प्राप्त गरेको छ। भट्टचनले बैंकबाट मात्र नभइ विभिन्न सहकारीको करिब ९८ करोड दुरुपयोग गरेको देखिएको छ । यसबाट अध्यक्ष भट्टचनले बैंक मात्र नभई सहकारीको रकम हिनामिना गरी अपचलन गरेको तथ्य पुष्टी हुन्छ।
यता, बैंकले भने यस कम्पनीले सहकारीलाई आईटी समाधानको काम गर्दै आएको र यस क्षेत्रमा आएको मन्दीका कारण समस्यामा परेको बताएको छ। बैंक भन्छ,- ‘हामीले यस कम्पनीलाई ओभरड्यु तिर्न र ऋण चुक्ता गर्न पटक-पटक पत्राचार गरेका छौँ। उहाँहरुले यो कर्जा अर्को वाणिज्य बैंकमा सार्ने हो भन्नुभएको छ।’
राष्ट्र बैंकले यस कम्पनीमा प्रवाह भएको रकम नोक्सानी भएको ठहर गर्दै शतप्रतिशत प्रोभिजन गर्न भनिसकेको अवस्थामा अर्को वाणिज्य बैंकले कसरी कर्जा स्वाप गर्छ ? भन्ने प्रश्नमा अध्यक्ष भट्टचन भन्छन्,-‘ यो तपाईहरुको चासोको बिषय हैन, त्यसमा पनि अहिले म राजनीतिमा छु , प्रभु मेनेजमेन्टमा छैन। कुशुमलाई सोध्नु।’
कुशुम लामाले अध्यक्ष देवी प्रकाश भट्टचनको नामै किटान गरी नेपाल राष्ट्र बैंकमा निवेदन दिएकी छन्। लामाको भनाइअनुसार सम्पूर्ण कर्जा रकम देवी प्रकाश भट्टचनले व्यक्तिगत कम्पनीमा लगानी गरेकोले उक्त रकम भट्टचनबाट रकम फिर्ता आएपछि मात्र साँवा र ब्याज भुक्तान गर्ने जनाएकी छन् ।
प्रभु बैंक र भट्टचनका विरुद् राष्ट्र बैंकमा दर्जनौँ उजुरी र सयौँ गुनासो पुग्ने गरेका छन् तर भट्टचनको राजनीति पहुँच कारण राष्ट्र बैंकले समेत घुँडा टेकेको अवस्था छ। राजनीति पावर र पहुँचकै भरमा सर्वसाधारण जनताको रगत पसिनाको रकम मनोमानी ढंगबाट अपचलन गर्दै जाने हो भने निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाप्रति जनविश्वास समेत गुम्ने जोखिम बढ्दै जाने जानकारहरु बताउँछन् ।
नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुको ठाडो निर्देशनमा प्रभु बैंक र भट्टचनमाथिको कारबाही प्रकृया अघि नबढेको बैंककै कर्मचारीहरुको गुनासो छ। कर्मचारी भन्छन्,-‘हामीले त निरीक्षण गर्दा देखिएका समस्याको सुझावसहितका प्रतिवेदन बनाएर बुझाईसकेका छौँ । अब कस्तो किसिमको कारबाही गर्ने या नगर्ने भन्ने निर्णय हाकिमसाबहरुले गर्ने हो। कारबाही गर्ने अधिकार हामीलाई छैन।’
भट्टचनको सामु निरीह प्रभु बैंकः शेरचनकाे वित्तीय अपराधमा राष्ट्र बैंक किन चिम्लिँदै छ आँखा ?
प्रभु बैंकभित्र भीआरएस आतंक: डेपुटी सीईओसम्म निकाल्ने शेरचनको तयारी
प्रभु बैंकका अध्यक्ष सिटौलाले रोकेका थिए १ करोड घोटालाका दोषी प्रमोदको सरुवा [फलोअप]
प्रभु बैंकका सीइओ शेरचनको बद्मासी: पद्मा कोलोनी र मर्चेन्टको नाममा धितोले नखाम्ने अर्बौ ऋण प्रवाह
अदालतले भन्यो- प्रभु बैंकका सीईओ शेरचन २०८२ बैशाख ९ गतेसम्म मात्रै योग्य
प्रभु बैंकमा सीईओ शेरचनकी सम्धीनीको हालीमुहाली: नियमविपरित नियुक्ति, बर्षैपिच्छे करार थप
प्रभु बैंकका सिनियर डेपुटी न्यौपानेसहित १८ जना बैंकबाट बाहिरिँदै, अब को बन्छ सिईओ ?







