काठमाडौं । प्रभु बैंक लिमिटेडले पुन: भिआरएस ल्याउने तयारी गरिरहेको पाईएको छ। बैंकले तत्कालिन सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ती गरेपछि सेन्चुरी बैंकका १३० जना भन्दाबढी कर्मचारीलाई भिआरएस ल्याइ मनोवैज्ञानिक दवावमा बैंक छोड्न बाध्य बनाएको केहि समय बित्दानबित्दै सीईओ शेरचनको ग्रान्ड डिजाइनमा पुन: भीआरएस योजना ल्याएर करियर बनाउँदै गरेका कर्मचारीलाई बैंक छोड्न बाध्य पार्न लागिएको बैंक स्रोतले जनाएको छ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको कार्यकाल आगामी २०८२ वैशाख ९ गते सकिंदैछ । उच्च अदालत पाटनले शेरचन बिरुद्द परेको मुद्दाको अन्तिम फैसलाको व्यख्या गर्दै शेरचन अब आगामी वैशाख ९ गतेसम्म मात्र काम गर्न योग्य रहेको स्पष्ट पारिसकेको छ। बैंकका कार्यकारी प्रमुखको कार्यकाल बढीमा ४ बर्षको हुने र निज अर्को एक कार्यकालका लागि पुन: नियुक्ति हुन सक्ने व्यवस्था ऐन प्रारम्भ भएपछि लागू हुनेगरी व्यवस्था गरेको कुरालाई यो ऐन प्रारम्भ हुनु अधिको अवधीलाई पनि गणना हुने भनि बलपूर्वक व्याख्या गर्नू न्यायिक र कानूनसम्मत नहुने अदालतको ठहर छ।
शेरचनको कार्यकालपछि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदको दावेदार को ? भन्ने चर्चापरिचर्चा र प्रतिस्पर्धाका बीच भिआरएस योजना ल्याउन लागिएको हो ।
प्रभु बैंकमा सीईओको प्रमुख दावेदार दुईजना डेपुटी सीईओ छन्। जसमा तत्कालिन सेन्चुरी कमर्सियल बैंकका सीईओ तथा बैंकका डेपुटी सीईओ मनोजकुमार न्यौपानेलाई बैंकिंग कसुरको मुद्दा लगाई तारिख खेप्न बाध्य छन् भने अर्का डेपुटी सीईओ मनिराम पोखरेललाई पनि भिआरएस लिएर जागिर छोड्न मनोवैज्ञानिक दवाव दिइरहेको बैंक स्रोतले जनाएको छ।
निरन्तर १० वर्षभन्दा बढी सीईओको जिम्मेवारीमा रहेका शेरचनले मनोमानी ढंगबाट प्रवाह गरेका अर्बौ रुपैयाँ ऋण अपचलन हुँदा बैंक खराव कर्जाको दलदलमा फसेको छ। बैंकको वित्तीय अवस्था सुधारका लागि निकै चुनौतिपूर्ण रहेको अवस्थामा सक्षम तथा अनुभवी कार्यकारी अधिकृतको आवस्यक रहेको छ।
तर सीईओ शेरचन भने हालै मात्र चिफ म्यानेजरबाट एजिएममा बढुवा गरिएकी रश्मी पन्तलाई रिक्त हुने डेपुटी सीईओमा पुन: बढुवा गर्ने र अर्को कार्यकालमा कार्यकारी अधिकृत( सीईओ) बनाउने रणनीतिमा लागेको बैंक स्रोतको दावी छ। त्यसो त पन्त बैंकिङ करियरमै छिटो र छोटो समयमा पदोन्नती हुने कर्मचारीमा पर्छिन् ।
पन्त जुनियर तर शेरचन निकट कर्मचारी हुन्। पन्त भन्दा निकै सिनियर कर्मचारी बैंकमा कार्यरत छन्। सीईओ शेरचनको उक्त योजना कार्यान्वयन भएको खण्डमा ती सिनियर कर्मचारीहरुको मनोवल गिर्ने र अन्ततः बैंक छोड्न बाध्य हुने कर्मचारीहरु बताउँछन्। बैंकभित्र तथा बाहिरसमेत सिइओ शेरचन र पन्तलाई लिएर निकै चर्चापरिचर्चा हुने गरेको छ । उनीहरुका गलत क्रियाकलापमाथि छानबिन गर्न भन्दै नेपाल राष्ट्र बैकमा पनि उजुरी परेको छ। तर उनीहरु भने यस विषयलाई नकार्दै आईरहेका छन् ।
बैंकमा रबिन्द्र ढकाल, मनिष प्रधान लगाएतका अब्बल यवं सिनियर कर्मचारी पनि छन् तर उनीहरुको कार्यसम्पादनको वेवास्ता गर्दै पन्तलाई मात्र पटकपटक बढुवा गरिरहदा मनोबल गिरेको कर्मचारीहरुको गुनासो छ।
बैंकमा सीईओपछिको महत्वपूर्ण जिम्मेवारी तथा कार्यकारी अधिकार डेपुटी सीईओमाथि हुने गर्दछ । तर प्रभु बैंकमा उच्च व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी पन्तलाईनै छ। खरिद, एचआर, कर्पोरेट, कर्जा यवं विज्ञापनआरसँगै सूचना अधिकारीसम्मको जिम्मेवारी उनै पन्तलाई छ। जसका कारण पनि डेपुटी सीईओहरुनै निरीह बनेको कर्मचारीहरु बताउँछन्। उनीहरुलाई कुनैपनि कार्यकारी अधिकार दिइएको छैन। बैंकभित्र डेपुटी सीईओको ब्रिफिंग सीईओलाई हुनुपर्नेमा उनीहरुले समेत आँफुभन्दा निकै जुनियर कर्मचारी पन्तलाई ब्रिफिङ गर्नुपर्ने बाध्यकारी अवस्था सृजना गरिएको बैंकका कर्मचारीहरुको गुनासो छ।
सीईओपछिको दोस्रो वरियतामा रहेका मनिराम पोखरेललाई गण्डकी प्रदेश कार्यालयमा सरुवा गरि केहि समयअघि मात्र केन्द्रिय कार्यालयमा फिर्ता बोलाईएको छ। उनलाई पुन: कर्णाली प्रदेशमा सार्ने तयारी गरिएको बैंक स्रोतले जनाएको छ। स्रोतका अनुसार सीईओ शेरचनले पोखरेललाई भीआरएस लिन दवाव दिएका छन्।
तर पोखरेलले भने आफूमाथि सिइओपछिको महत्त्वपूर्ण जिम्मेवारी रहेकाले भिआरएस ल्याउने तयारी भएको भएपनि तत्काल बैंक नछाड्ने बताए ।
यता, डेपुटी सीईओलाई प्रदेश कार्यालय प्रमुखको जिम्मेवारीमा खुम्च्याई पठाएको र पुन: अर्को प्रदेशमा पठाउने शेरचनको आन्तरिक तयारीका कारण हेपिएको महसुस गर्दै पोखरेल भीआरएस लिएर बैंक छोड्ने मनस्थितिमा पुगेको बैंक स्रोतले जनाएको छ।
कर्मचारी व्यवस्थापनको सिद्धान्त अनुरुप ‘राईट म्यान इन राईट प्लेस’ हुनुपर्नेमा सीईओ शेरचनले सस्थागत हितभन्दा व्यक्तिगत स्वार्थअनुरुप कार्य गरेको कर्मचारीहरुको गुनासो छ। शेरचनले बैकभित्रका अब्बल कर्मचारीको मनोवल गिर्ने गरी आफूलाई मनपर्ने र आफू निकट कर्मचारीलाई मात्र प्रोत्साहन गर्ने गरेका कारण पनि पुन: सयौं कर्मचारी भीआरएस लिएर बैंकबाट बाहिरिने तयारीमा रहेको स्रोतको भनाई छ। जसमा चेपुवामा परेका जुनियर कर्मचारी देखि उच्च व्यवस्थापनका कर्मचारीसम्म रहेको बताएको छ।
बैंकले भीआरएस ल्याउने तयारीका सन्दर्भमा दवावमा परेका कर्मचारी भन्छन्,-‘ भीआरएसमा जान्न भनौं भने वरियता गुम्ने गरी विकटमा सरुवा गर्ने र नमाने कारबाही समेत गर्ने भनि दवाव आएको छ। त्यो भन्दा छोड्नु राम्रो होला । कम्तिमा हेपिएर बस्नु त पर्दैन।’
यस सम्बन्धमा हामीले बैंककी चिफ बिजनेस अफिसर पन्तलाई सोधेका छौँ । तर उनले जवाफ दिन अस्विकार गरेकी छन् । त्यस्तै बैंकका मानव संसाधन व्यवस्थापनका प्रमुख रमेश थापालाई पनि बारम्बार सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
भिआरएसमा जान दवाव परेका अधिकांश कर्मचारी तत्कालीन सेन्चुरी बैंकका रहेको स्रोतले जनाएको छ।
अर्थ सन्जाल