काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) निर्माता कम्पनी बीवाईडीका गाडीमा ब्रेक र स्टेरिङमा गम्भीर समस्या देखिएको छ ।
ब्रेक पेडलमा प्रयोग गरिएको एक महत्वपूर्ण सामग्री खिइने, फुट्ने वा भाँचिने जोखिम देखिएपछि कम्पनीले एक लाख ८३ हजारभन्दा बढी गाडी बजारबाट फिर्ता बोलाउने भएको छ । चीनको बजार नियमनकारी निकायले सुरक्षा जोखिम औंल्याएपछि बीवाईडीले प्रभावित गाडी फिर्ता बोलाएको हो । कम्पनीले ब्रेक पेडलसँग सम्बन्धित पार्टपुर्जामा उत्पादनसम्बन्धी प्राविधिक खराबी भेटिएको जनाएको छ।
चीनको स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसन (एसएएमआर) ले सार्वजनिक गरेको सूचनाअनुसार बीवाईडीले सन् २०१४ देखि २०२२ सम्म उत्पादन गरेका क्विन र टाङ सिरिजका कुल एक लाख ८३ हजार दुई सय ११ वटा गाडी फिर्ता बोलाउने भएको रोयटर्सले जनाएको छ । उत्पादनका क्रममा ब्रेक पेडल स्टपर निर्माणमा प्रयोग गरिएको सामग्रीमा समस्या देखिएपछि ती गाडीमा सुरक्षा जोखिम उत्पन्न हुन सक्ने नियामकले औंल्याएको छ ।
एसएएमआरका अनुसार केही ब्याचका गाडीमा प्रयोग भएको ब्रेक पेडल स्टपर लामो समयसम्म प्रयोग गर्दा कमजोर हुँदै जाने समस्या देखिएको छ । यस्तो अवस्थामा स्टपर खिइन, फुट्न वा भाँचिन सक्ने सम्भावना हुन्छ । ब्रेक पेडलसँग प्रत्यक्ष सम्बन्धित उक्त पार्टमा समस्या आएमा गाडीको ब्रेक प्रणालीले अपेक्षित रूपमा काम गर्ने प्रक्रियामा असर पर्न सक्ने जोखिम देखिएको हो ।
समस्या अझ गम्भीर अवस्थामा पुगेमा चालकले ब्रेक पेडल नथिचेको अवस्थामा समेत गाडीको पछाडिको ब्रेक लाइट बलिरहन सक्ने नियामकले जनाएको छ । यसले पछाडिबाट आइरहेका अन्य सवारीसाधनका चालकलाई गाडीले ब्रेक लगाइरहेको गलत संकेत दिन सक्छ । विशेषगरी तीव्र गतिमा चलिरहेको अवस्थामा यस्तो संकेतले चालक झुक्किन सक्ने र त्यसबाट दुर्घटनाको जोखिम बढ्न सक्ने अधिकारीहरूको भनाइ छ ।
फिर्ता बोलाइएका गाडीमध्ये ठूलो संख्या बीवाईडीको टाङ सिरिजका एसयूभी छन् । कुल एक लाख ४२ हजार आठ सय ९५ वटा टाङ सिरिजका गाडी फिर्ता बोलाइएका छन् । तीमध्ये २८ मार्च २०१५ देखि २१ डिसेम्बर २०१८ सम्म उत्पादन भएका ५८ हजार २६ वटा टाङ, १९ मे २०१८ देखि १४ जनवरी २०२२ सम्म उत्पादन भएका ७७ हजार आठ सय ४६ वटा अल–न्यु जेनेरेसन टाङ डीएम र २७ डिसेम्बर २०१८ देखि २५ अक्टोबर २०२१ सम्म उत्पादन भएका सात हजार २३ वटा अल–न्यु जेनेरेसन टाङ ईभी रहेका छन् ।
त्यसैगरी, बीवाईडीको क्विन सिरिजका ४० हजार तीन सय १६ वटा सेडान पनि फिर्ता बोलाइएका छन् । ती गाडी २७ जुन २०१४ देखि ९ जुन २०१९ सम्म उत्पादन भएका हुन् । यसरी हेर्दा फिर्ता बोलाइएका गाडी बीवाईडीका विभिन्न पुस्ता र मोडलमा फैलिएका छन् ।
नियामकको निर्देशनपछि बीवाईडीले प्रभावित गाडी पहिचान गरी आफ्ना अधिकृत डिलरमार्फत त्रुटिपूर्ण ब्रेक पेडल स्टपर निःशुल्क परिवर्तन गर्ने जनाएको छ । कम्पनीले ग्राहकबाट त्यसका लागि कुनै शुल्क नलिने पनि बताएको छ । फिर्ता प्रक्रिया अघि बढेसँगै सम्बन्धित गाडीधनीलाई सम्पर्क गरी आवश्यक मर्मत तथा पार्टपुर्जा परिवर्तन गरिने प्रतिबद्धता कम्पनीले गरेको छ ।
विद्युतीय सवारीसाधनको बजार तीव्र रूपमा विस्तार गरिरहेको बीवाईडीका लागि ठूलो संख्यामा गाडी फिर्ता बोलाउने निर्णयले सुरक्षा र गुणस्तर व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ। यधपि बीवाईडीले भने प्रभावित सवारी साधनको निःशुल्क निरीक्षण गरी त्रुटिपूर्ण वायरिङ हार्नेस फेरिदिने स्पष्ट पारेको छ ।
सम्बन्धित समाचार
सांसद चढेको ‘बीवाईडी एटो ३’ भयानक दुर्घटनामा, ‘ब्रेक लागेन, स्टेयरिङ लक भयो’ (भिडियोसहित)
बीवाईडीले कर छलेको पुष्टि, रसुवा भन्सारमा दाखिला गर्यो १९ करोड २७ लाख रुपैयाँ
बीवाईडीलाई भन्सारले भन्यो – छलिएको १९ करोड कर तिरेर मात्र गाडी छुटाई लैजानू
नाकामै नआएका सयौं ‘बीवाईडी’ को जाँचपास प्रकरण: भन्सारका प्रमुखसहित ९ कर्मचारी जिम्मेवारीमुक्त
‘बीवाईडी’ को करछलि शृंखला बढेको बढ्यै, साइमेक्स इंक र संचालकमाथि किन हुँदैन कारबाही ?




