‘बीवाईडी’ को करछलि शृंखला बढेको बढ्यै, साइमेक्स इंक र संचालकमाथि किन हुँदैन कारबाही ?

काठमाडौँ । कर छलीका गम्भीर प्रकृतिका कयौं घटनामा मुछिए पनि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालि अझै कारबाहीको दायरामा आएको छैन । विगतमा उच्च राजनीतिक पहुँचका आधारमा कारबाहीबाट जोगिँदै आएको साइमेक्स इंक नयाँ सरकारमा पनि राजनीतिक ‘नेक्सस’कै कारण कम्पनी र यसकी सञ्चालक युमना श्रेष्ठलगायतमाथिको छानबिन र कारबाही निश्पक्ष रुपमा अधि बढ्न सकेको छैन।

साइमेक्स इंकमाथि राजस्व अनुसन्धान विभागले उच्च क्षमताका विद्युतीय सवारी साधन (ईभी) लाई समेत कम क्षमताको देखाई भन्सार तथा अन्तःशुल्कमा छुट लिँदै आएको विषयमा छानविन गरिरहेको जनाएको छ । त्यस्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतका अनुसन्धान गर्ने निकायहरुका अनुसार पनि साइमेक्स इंकमाथि न्यून बिजकीकरणलगायतका विषयमा छानबिन भईरहेको छ। तर, लामो समयदेखि छानबिन भईरहेको यस कम्पनीमाथिको अनुसन्धान भने टुँगो लाग्न सकेको छैन। यसबाट साइमेक्स इंक प्रालिलाई एकपछि अर्को वित्तीय अपराध गर्ने छुट मिलिरहेको देखिन्छ।

यतिसम्म कि साइमेक्स इंकले बजेटमा नयाँ बजेटमा करको दर हेरफेर हुँदैछ भन्ने गोप्य सूचना पाएपछि ‘गाडी नै नआउँदै भन्सार जाँचपास’ गराएको तथ्य भेटिएको छ। जसले राज्यको भन्सार प्रणालीलाई नै चुनौती दिएको छ ।

कर्मचारीकै मिलेमतोमा गाडी नआउँदै भन्सार जाँचपास

बजेट सार्वजनिक हुनुअघि भन्सार र्याडमा गाडी आइनपुग्दै रसुवा भन्सारबाट झन्डै २०० वटा विद्युतीय गाडीको प्रज्ञापनपत्र तयार गरी भन्सार जाँच पास गरी कर तिरिएको तथ्य सार्वजनिक रूपमै उठेपछि विभागका उपसचिव सुरेन्द्र पाण्डेको नेतृत्वमा कार्यालय पुगेको छानबिन टोलीले हुँदै आउँदै नआएका गाडीको पनि जाँचपास गरिएको तथ्य फेला पारेको थियो ।

भन्सार ऐनअनुसार भने सवारीसाधन जाँचपासका लागि सम्बन्धित सामान भौतिक रूपमै भन्सार नाकामा उपस्थित हुनुपर्ने व्यवस्था छ । ऐनको दफा २२ मा विशेष प्रकृतिका वस्तुका लागिमात्र शीघ्र जाँचपासको व्यवस्था भए पनि सवारी साधनलाई उक्त व्यवस्थाभित्र समावेश गरिएको छैन । तर,  साइमेक्स इंकले हुँदै नभएका गाडीको जाँचपास कसरी गर्यो ? भन्ने प्रश्नको जवाफ भने अनुसन्धान गर्ने निकायले नै देलान् ।

ऐन विपारीत पटक-पटक सयौं गाडीको सजिलै भन्सार जाँचपास गराउँदै आएको साइमेक्स इंकले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने अघिल्लो दिन मात्रै हुँदै नभएका २ सय वटा गाडीको जाँचपास गराउनुले यसका संचालकहरुको ‘नेक्सस’ सरकारसम्मै रहेको पुष्टी हुन्छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेको ‘स्वर्णिम बजेटमा’ विद्युतीय सवारीसाधनको मूल्य बढ्ने अतिगोप्य सूचना पाएको साइमेक्स इंकले भन्सारका कर्मचारीहरूसँगको मिलेमतोमा आउँदै नआएका गाडीको जाँचपास गरी भन्सार क्लियरेन्स लिएको छ। सरकारी कर्मचारीकै मिलेमतोमा किर्ते धन्दा हुँदै आएको तथ्य भेटिएपछि रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित ६ कर्मचारीको सरुवा गरिएको छ।

विभागमा तानिएका कार्यालय प्रमुख भट्टराई, भन्सार अधिकृत खड्गबहादुर माझी, अधिकृत ठाकुर गौतम, कम्प्युटर अधिकृत सविना अधिकारी र प्रकाश पुडासैनी तथा नायब सुब्बा तेजबहादुर बलसहितको सिंगो टीमलाई माथि नै अनुसन्धान गरी कारबाही प्रकृया अघि बढाएको छ। उनीहरूमाथि बीवाईडीका विद्युतीय गाडीको कर छली योजनामा सहयोग गरेको आरोप छ । प्रमुख भट्टराईसहितको टोलीलाई विभाग तानेपछि अर्थ मन्त्रालयले उपसचिव राजेन्द्र ढुंगानालाई रसुवा भन्सार कार्यालय पठाएको छ। यधपि ढुंगाना पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा छानबिनमा परेका कारण उक्त भन्सार कार्यालयमा हुँदै आएको अवैध धन्दा रोकिनेमा आशंका छ।

साइमेक्स इंकको कर छलि शृंखला: कर छलीदेखि न्यून बिजकीकरणसम्म

यसअघि साइमेक्स इंक प्रालिले बीवाईडीका गाडी आयात गर्दा उच्च क्षमताका गाडीलाई भन्सारमा न्यून क्षमताको उल्लेख गर्ने तथा गाडीको लागत मूल्यभन्दा न्यून बिजकीकरण गरेर राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले २०८१ असार ४ गते साइमेक्स इंक प्रालिको कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको थियो । तर, दुई वर्ष बितिसक्दासम्म पनि साइमेक्स इंकमाथिको अनुसन्धान सकिएको छैन।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले नै इमेक्स इंक लगायतका आयातकर्ताले मोटर क्षमतामा हेरफेर गरी कर दायित्व घटाएको बिषय औँल्याउँदै अर्बौं रुपैयाँ राजस्व असुल गर्न भनेको थियो । प्रतिवेदनअनुसार रसुवा र तातोपानी नाकाबाट आयात भएका सवारीसाधनमध्ये केहीमा वास्तविक क्षमताभन्दा कम विशेषगरी ९९ किलोवाट देखाई न्यून दरमा भन्सार तथा अन्तःशुल्क तिरेको उल्लेख गर्दै यसबाट राज्यलाई ३ अर्ब ७७ करोड रुपैयाँ बराबर राजस्व नोक्सानी भएको तथ्य उजागर गरेको थियो।

यसअघि पनि भन्सार विभागले गरेको जाँचपासपछिको परीक्षण (पोस्ट क्लियरेन्स अडिट) मा कैफियत भेटिएपछि केही दर्जन प्रज्ञापनपत्र छनोट गरी अनुसन्धान अघि बढाएको भए भए पनि सो प्रक्रिया अझै अलपत्र छ। साइमेक्स इंकले बिक्री गर्ने बीवाइडीको एट्टो–३ मोडेलको गाडीको क्षमता १५० किलोवाट भए पनि ९९ किलोवाट मात्र क्षमाताको कागजात बनाई अर्बौं रुपैयाँ राजस्व छली गरेको भेटिएपछि विभागले कागजपत्र नियन्त्रणमा लिएको थियो ।

भन्सार शुल्क आर्थिक ऐन २०८० अनुसार २० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत गरी ४० प्रतिशत तिर्नुपर्नेमा व्यवस्था छ । तर बीवाइडी १०० किलोवाटको गाडी उल्लेख गरी १५ प्रतिशत भन्सार शुल्क, १० प्रतिशत अन्तःशुल्क तिरेर भन्सार छलेको विषयमाथि अनुसन्धान पनि अझैसम्म किनारा लगाईएको छैन । यसअघि साइमेक्स इंकले सन् २०१५ मा बनेका २० वटा ई–सिक्स मोडेल कार आयात गर्दा १ करोड ८४ लाख रुपियाँ न्यून बिजकीकरण ठहर भन्सार विभागले नै ठहर गरेको थियो ।

त्यस्तै साइमेक्स इंकले २०७८ भदौ १७ मा जारी गरेको बिलका आधारमा बीवाईडी ई–सिक्स नेपाल भित्र्याउँदा भन्सारको प्रज्ञापनपत्रमा घोषित मूल्य वास्तविक नभएको र यसबाट पनि कर छली गरेको राजस्व न्यायाधीकरणले ठहर गरेको थियो । यतिसम्म कि गाडीको ब्याट्री चार्जर, एसी र अन्य सामग्रीहरू गाडीसँगै जोडिएर आउने भए पनि कम्पनीले यसको मूल्य छुट्टै देखाउने गरेको समेत अनुसन्धानमा खुलेको थियो ।

त्यस्तै,साइमेक्स इंकले २०८१ भदौमा यातायात व्यवस्था विभागबाट बिक्रीका लागि आयातको अनुमति नलिई प्रदर्शनीको कागजपत्र बनाएर ‘सिलायन सेभेन’का २० वटा गाडी अवैध तरिकाले नेपाल भित्र्याएर बिक्री गरेको बिषय सार्वजनिक समेत सार्वजनिक भएको थियो ।

सम्बन्धित समाचार 

कसले चुहायो इभीमा कर बढ्ने गोप्य सूचना, छानविनको दायरा आउलान् त अर्थमन्त्री ?

भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

बजेटअघि कोरला नाकाबाट भित्रिएका ७७५ इभी नियन्त्रणमा, राजस्व छलीको आशंकामा छानबिन सुरु

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *