बीवाईडीले कर छलेको पुष्टि, रसुवा भन्सारमा दाखिला गर्यो १९ करोड २७ लाख रुपैयाँ

काठमाडौं । बीवाईडीका विद्युतीय गाडी भन्सार जाँचपासमा राजस्व छली भएको पुष्टी भएको छ।

नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले १९ करोड २७ लाख १७ हजार २५ रुपैयाँ रसुवा भन्सार कार्यालयमा दाखिला गरेसँगै जाँचपासका क्रममा कर छली भएको तथ्य आधिकारिक रुपमै खुलेको हो। रसुवा भन्सार कार्यालयले छुट रकम दाखिला गर्न पत्राचार गरेपछि साइमेक्सले सो रकम बुझाएको हो।

रसुवा भन्सार कार्यालयले कर छली भएको रकम तिर्नुपर्ने निर्णयविरुद्ध साइमेक्सकी सञ्चालक यमुना श्रेष्ठ उच्च अदालत पाटन पुगेकी थिइन्। तर, अदालतले उनको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेपछि कम्पनीले भन्सारले निर्धारण गरेअनुसार रकम दाखिला गरेको हो।

यसअघि बजेट सार्वजनिक हुनुअघि नै विद्युतीय सवारीसाधनको करका दर परिवर्तन हुने सूचना चुहिएको आशंकाबीच बीवाईडीका ठूलो संख्याका गाडी भन्सार प्रणालीमा प्रवेश गराइएको विषय सार्वजनिक भएको थियो। अर्थ मन्त्रालयबाट करका दर परिवर्तनसम्बन्धी सूचना बाहिरिएपछि बजेट भाषणको अघिल्लो दिनसम्म मुस्ताङको कोराला नाकाबाट मात्रै ६४९ वटा विद्युतीय गाडी जाँचपास भएको विवरण बाहिरिएको थियो।

रसुवा भन्सारबाट समेत बजेटको पूर्वसन्ध्यामा ठूलो संख्यामा गाडी जाँचपास गरिएको थियो। छानबिनका क्रममा भन्सार यार्डमा गाडी भौतिक रूपमा आइपुग्नुअघि नै कागजातमा गाडी आइसकेको देखाएर जाँचपास गरिएको तथ्य भेटिएको थियो।

साइमेक्सले जेठ महिनामा मात्रै रसुवा भन्सार नाकाबाट १ हजार ३ सय ९६ वटा गाडी जाँचपास गराएको तथ्यसमेत सार्वजनिक भएको थियो। त्यसमध्ये पछिल्लो दुई सातामा मात्रै १ हजार १ सयभन्दा बढी गाडी जाँचपास भएको विवरणले भन्सार प्रक्रियामाथि थप प्रश्न उठाएको थियो।

कर छलीको बिषय सार्वजनिक भएपछि छानबिन गर्न अर्थ मन्त्रालयले समिति गठन गरेको थियो। समितिले रसुवा पुगेर स्थलगत अध्ययन गर्दा सवारीसाधन भन्सारमा भौतिक रूपमा नआइपुग्दै कागजातका आधारमा जाँचपास गरिएको भेटिएपछि रसुवा भन्सार कार्यालयका प्रमुखसहित १३ कर्मचारीलाई निलम्बन गरेको थियो।

अनुसन्धानका क्रममा कर छली भएको भेटिएपछि प्रतिवेदनका आधारमा रसुवा भन्सारबाट नेपाल भित्र्याइएका बीवाईडीका सयौं सवारीसाधनमा छुटेको रकम असुल गर्न कार्यालयले साइमेक्सलाई पत्र काटेको थियो। असार १९ गते साइमेक्सका नाममा काटिएको पत्रमा कर रकम दाखिला गरेर मात्र सवारीसाधन छुटाएर लैजान भनिएको थियो। कम्पनीले त्यसविरुद्ध अदालतको बाटो रोजे पनि अन्तरिम आदेश नआएपछि रकम दाखिला गरेको हो।

यसअघि मुस्ताङ भन्सारबाट जाँचपास भएका गाडीलाई भने अर्थ मन्त्रीको ठाडो निर्देशनमा नियमसंगत भएको भन्दै छुटाइएको थियो।

तर, रसुवा भन्सारले छली भएको १९ करोडभन्दा बढी रकम असुल गरेपछि बीवाईडीको भन्सार प्रक्रियामा भएको अनियमितता र विभिन्न भन्सार नाकामा हुने जाँचपासमा कैफियत हुने गरेको तथ्य उजागर गरेको छ।

विशेषगरी बजेटअघि करका दर परिवर्तन हुने सूचना व्यवसायीसम्म कसरी पुग्यो, त्यसपछि छोटो अवधिमै ठूलो संख्यामा विद्युतीय गाडी किन जाँचपास गरिए र भौतिक रूपमा भन्सार यार्डमै नआएका गाडीलाई कागजातकै आधारमा कसरी जाँचपास गरियो भन्ने विषय अझै अनुसन्धानकै क्रममा रहेको भन्सार कार्यलयले जनाएको छ।

यो अनुसन्धान प्रतिवेदन र साइमेक्सले भन्सारले निर्धारण गरेको रकम दाखिला गरेसँगै अब यस प्रकरणमा राजस्व छलीमा संलग्न, भन्सार कर्मचारीको भूमिका र बजेटअघि कर परिवर्तनको सूचना चुहिएको विषय थप अनुसन्धानको दायरामा आउने देखिएको छ।

सम्बन्धित समाचार 

बीवाईडीलाई भन्सारले भन्यो – छलिएको १९ करोड कर तिरेर मात्र गाडी छुटाई लैजानू

Leave a Reply

Your email address will not be published. Required fields are marked *