काठमाडौं । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद प्रकाश पाठक झापाबाट काठमाडौं आउँदै थिए । साथमा थिए झापाकै दुई सांसदसहित ४ जना । यात्रा सहज रूपमै अघि बढिरहेको थियो । तर, सिन्धुलीको कमलामाई नगरपालिकास्थित भीमानतर्फ आइपुग्दा केही सेकेन्डमै यात्रा भयावह दुर्घटनामा परिणत भयो।
गाडी थियो– सईमेक्स इंकको बीवाईडी एटो ३ु
सवारी चालक लक्ष्मण पोखरेल अचानक ब्रेक नलागेको र स्टेयरिङ लक भएको भन्दै चिच्याए । समस्या देखिएको करिब ५ सेकेन्डमै गाडी नियन्त्रणबाहिर पुग्यो । सडकको डिभाइडरमा ठोक्किँदै गाडी एउटा घरको किनारमा पुगेर रोकियो । गाडी गम्भीर दुर्घटनामा पर्दा गाडीमा रहेका कुनै पनि सुरक्षा प्रणालीले काम गरेनन् । न एयर ब्याक निस्कियो न अन्य प्रणाली नै सक्रिय भए ।
यो गुनासो सांसद पाठकले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत् भिडियोसहित सार्वजनिक गरेका छन्।
त्यसो ट बीवाईडी गाडीका दुर्घटना वा गुनासो सार्वजनिक भएको यो पहिलो घटना भने होइन । यसअघि पनि बिवाईडी ब्रान्डका सवारी साधनको कमजोरीको कारण आगलागी वा दुर्घटनामा पर्ने गरेका घटना थुप्रै छन् ।
केहि समय अघि पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि आफूले प्रयोग गरेको सरकारी बीवाईडी एटो ३ बारे गम्भीर असन्तुष्टि व्यक्त गरेकी थिइन् । सरकारी सवारी बुझाउने क्रममा उनले कैफियतमा बीवाईडीको स्क्रिन स्पष्ट नदेखिने र त्यसका कारण पटक–पटक जोखिमपूर्ण अवस्था आएको उल्लेख थिइन् । उनले बीवाईडीको स्क्रिनकै कारण आफू दुर्घटनाको नजिक पुगेको भन्दै ‘झन्डै मारिन’ भनेकी थिईन् ।
त्यसैगरी २०८३ साल जेठमा समेत मोरङको पथरी क्षेत्रमा पार्किङमा राखिएको बिवाईडी एटो ३ मा अचानक आगलागी भएर खरानी बनेको घटना अझै ताजै छन् ।
यति मात्र होइन्, झापाको दमकबाट जन्ती लिएर करिब १८ किलोमिटर यात्रा तय गर्दै मोरङ पत्थरीमा आएको गाडी पार्किङमा राखेको बेला गत मे ७ मा आगलागीका कारण क्षतिग्रस्त बनेको थियो ।
२०८३ को जेठमा नै नेपाल भित्र्याएर शोरुमतर्फ लैजाँदै गरिएको बीवाईडीको नयाँ विद्युतीय (ईभी) गाडी बीच सडकमै पड्किएको थियो । भन्सार पास गरेर भर्खरै सडकमा गुडिरहेको बिवाईडीको ‘अट्टो २’ बाराको सिमरा सडकमै पड्किएर क्षतिग्रस्त बनेको घटना पनि सार्वजनिक भएको थियो ।
यी केही पछिल्ला उदारहण मात्रै हुन् । पछिल्लो समय नेपाली अटो बजारमा बिवाईडीका विभिन्न मोडलमा बेला बेला प्राविधिक समस्या देखिने गरेको गुनासो बढ्दै गएको छ । कम्पनीको गुणस्तरमाथि नै गम्भीर प्रश्न उठ्ने गरी बिवाईडीका सवारी साधनमा आगलागी तथा दुर्घटनाका शिकार हुने गरेको पाइन्छ ।
सईमेक्स इंकले सन् २०१७ आसपासदेखि नेपाली बजारमा बीवाईडीका विद्युतीय गाडी बिक्री शुरु गरेको थियो । शुरुवाती चरणमा बीवाईडीलाई किफायती र आधुनिक प्रविधियुक्त विद्युतीय गाडीका रूपमा प्रस्तुत गरिएको थियो । तर पछिल्लो समय सामाजिक सञ्जाल र बजारमा कम्पनीको गुणस्तर तथा बिक्रीपछिको सेवामाथि आलोचना बढ्दै गएको देखिन्छ । केही उपभोक्ताले स्पेयर पाट्र्स, प्राविधिक सेवा र लामो समयपछि देखिने समस्याबारे गुनासो गर्ने गरेका छन् ।
उत्पादनमा त्रुटि, ब्याट्रीमा समस्या, ब्रेकिङ सिस्टममा कमजोरी र सुरक्षा फिचरको कमीबीच बीवाईडी गाडीमा गुणस्तरको प्रश्न उठ्दै आइरहेको छ । विश्व बजारमा पनि विभिन्न बीवाईडीले समय–समयमा आफ्ना सवारीसाधन रिकल गर्ने गरेका उदाहरण छन् । सुरक्षासम्बन्धी समस्या, सफ्टवेयरमा त्रुटि वा प्राविधिक कमजोरीका कारण लाखौं गाडी फिर्ता बोलाइएका घटनाहरू सार्वजनिक हुने गरेका छन् ।
यधपि कम्पनीले भने बीवाईडीका आफ्नो गाडीमा कुनै समस्या नरहेको दाबी गर्दै आएको छ ।




