काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको व्यवसाय विस्तार भए पनि खुद नाफामा उल्लेख्य गिरावट आएको छ।
समीक्षा अवधिमा कम्पनीले १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३३ करोड ६७ लाख रुपैयाँ रहेको थियो। यस आधारमा कम्पनीको नाफा करिब ६१ प्रतिशतले घटेको छ।
कम्पनीको चुक्ता शेयर पूँजी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म विशेष जगेडा कोषमा ८१ करोड ४५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ५ करोड २४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९ करोड ८७ लाख रुपैयाँ र अन्य इक्विटीमा १० करोड २७ लाख रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा विशेष जगेडा कोषमा ७४ करोड ९५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १७ करोड २७ लाख रुपैयाँ र अन्य इक्विटीमा १४ करोड २७ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो बीमाशुल्क २ अर्ब ५३ करोड १५ लाख रुपैयाँ रहेको थियो। यससँगै कम्पनीको कुल बीमाशुल्क आर्जन ७.८२ प्रतिशतले बढेको छ।
त्यस्तै, कम्पनीले समीक्षा वर्षमा ८३ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षमा यो रकम ७६ करोड ४२ लाख रुपैयाँ रहेको थियो। यसअनुसार खुद बीमाशुल्क आर्जन करिब ९ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले समीक्षा अवधिमा पुनर्बीमा बापत १ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा पुनर्बीमा खर्च १ अर्ब ७६ करोड ७२ लाख रुपैयाँ रहेको थियो।
व्यवसाय र बीमाशुल्क आर्जनमा वृद्धि भए पनि नाफामा आएको गिरावटका कारण कम्पनीको वित्तीय प्रदर्शनमा दबाब देखिएको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (EPS) ५ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३३ पैसा रहेको छ।




