काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापनका कर्मचारीहरु बिचको किचलो सतहमा आएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) रोशन कुमार न्यौपानेको खराव प्रदर्शन तथा फितलो व्यवस्थापनका कारण बैंक संकटमा छ। यसको प्रत्यक्ष असर बैंकको संस्थागत सुसाशन तथा कर्मचारी व्यवस्थापनमा देखिएको हो।
न्यौपानेलाई २०७९ कात्तिक १६ मा बसेको बैंक सञ्चालक समितिको बैठकले दोस्रो कार्यकालका लागि नियुक्त गरेको थियो। पहिलो कार्यकाल जसोतसो बितेपछि उनको दोस्रो कार्यकाल भने निकै संकटपूर्ण र विवाददित बनिरहेको छ। न्यौपानेले व्यवस्थापनको नेतृत्व सम्हालेपछि उनको कार्यव्यवहार कारण बैंकभित्रका सिनियर डेपुटी सीइओदेखि दर्जनौँ अब्बल कर्मचारीले बैंक छोडिसकेका छन्।
बैंकको उच्च व्यवस्थापनमा रोशन कुमार न्यौपाने, सन्तोष राठी, जयेन्द्र रावल , राजेश रावल, रंजन खडका, अर्जुनराज खनिया लगायत छन्। तर न्यापानेको अहमता र घमण्डकै कारण सबै उनलाई सहयोग भन्दा असहयोग बढी गर्ने गरेका छन्।
त्यस्तै, न्यौपानेले बैंकको कमजोर वित्तीय अवस्था ढाकछोप गर्नकै लागि मिडिया व्यवस्थापनलाई अलि प्रभावकारी बनाउन भन्दै एक महिनामा ३ जना विभागीय प्रमुख फेरिसकेका छन्। लामो समयदेखि मार्केटिङ विभागको नेतृत्व सम्हालिरहेका सरोज भट्टराईलाई हटाएर योगेन्द्र न्यापानेलाई भित्र्याएका थिए । तर उनले पनि कार्यभार सम्हालेको एक साता बित्दानबित्दै बैंक छाडीसकेका छन्।
हाल विभागको जिम्मेवारी बैंककै डेपुटी मेनेजर धिरेन्द्र वाग्लेलाई विभागको जिम्मेवारी दिईएको छ। तर, उनले पनि जिम्मेवारी सम्हालेदेखि नै बैंकका डेपुटी सीइओ सन्तोष राठीको निर्देशन भन्दै बैंकसँग सहकार्य गर्ने संचार माध्यमले एनआईसी एसिया बैंकमै खाता खोल्नुपर्ने सर्त राखेर अनावास्यक स्टन्ट देखाउँदै मिडियाका कन्फीडेसियल डकुमेन्ट्र समेत माग्न लगाएपछि उनको पनि आलोचना सुरु भएको छ। स्रोतका अनुसार उच्च पदस्थका आ- आफ्नै सिफारिस हुने र एकको कुरा अर्काले नटेर्ने प्रवृति बैंकभित्र व्याप्त छ जसले गर्दा पनि जुनियर कर्मचारी नियमभित्र बसेर काम गर्नै सक्दैनन्। फलस्वरूप उच्च व्यवस्थापनबीचको स्वार्थ नमिलेपछि वाग्लेलाई पनि हटाएर बाहिरबाट कर्मचारी ल्याएर मिडिया व्यवस्थापनको जिम्मेवारी दिने बैंकको तयारी छ।
सीइओ न्यौपानेले बैंकभित्र रहेर नियमविपरित ‘मनलाग्दी’ गरेपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उनीलगायत बैंकका अध्यक्ष तुलसीराम अग्रवाल तथा संचालकसमेत लाई कारबाही गरेको छ। न्यौपाने गरेको वित्तीय अपराध क्षम्य थिएन तर, राष्ट्र बैंकलाई समेत प्रभावमा पार्न सफल भएपछि उनलाई ‘नसिहत’ मात्रै दिएर उन्मुक्ति दिइएको छ। जसको असर बैंकको आन्तरिक व्यवस्थापन र वित्तीय प्रदर्शनमा देखिएको छ।

संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार एनआईसी एसिया बैंक सबैभन्दा पुछारमा पुगेको छ। बैंकको नाफा झन्डै सय प्रतिशतले घटेको छ भने बैंकका अघिकांश सूचकहरु नकारात्मक छन्। समिक्षा अवधिमा बैंक झन्डै ४ अर्ब घाटामा छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा खराब कर्जा लुकाएर १.९२ प्रतिशत मात्रै देखाएको छ। तर राष्ट्र बैंक स्रोतका अनुसार बैंकको खराव कर्जा २० प्रतिशतभन्दा माथि पुगिसकेको छ। स्रोतका अनुसार एनआईसी बैंकले हरेक बर्ष राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीलाई प्रभावमा पारेर खराव कर्जा लुकाउँदै आएको छ। बैंकको प्रतिशेयर आम्दानी जम्मा १ रुपैयाँ ४१ पैसा मात्रै छ। पछिल्लो समय एनआईसी एसिया बैंकको वित्तीय अवस्था निकै दयनीय छ।
बैंकको अवस्था संकटपूर्ण भएपनि सीइओ न्यौपाने भने यतिबेला क्याप्टेन रामेश्वर थापाको निजी कम्पनीमा ३० प्रतिशतका व्यवसायी साझेदार हुन्। संचालक समितिलाई बैंक छाड्ने धम्की दिँदै न्यौपाने थापाको कम्पनीका मालिक बनेका थिए।
सीइओ न्यौपानेले अध्यक्ष तुलसीराम अग्रवाल, संचालक त्रिलोकचन्द्र अग्रवाल तथा रामचन्द्र संघाइ लागायत निजहरुका परिवारका सदस्य एवम् सम्वद्ध संस्थाहरुलाई प्रकाशित व्याजदरभन्दा बढी व्याज दिएका छन् । उनले बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरुको पुरानो मिति कायम गरी खाता खोलेर मुद्दती निक्षेपमा बढी ब्याज दिँदै ग्राहकको निक्षेपको दुरुपयोग गर्दै आएका छन्।
कुनै समय सीइओ पद जोगाउनकै लागि संचालकलाई गलत सल्लाह दिएर उनीहरुको चाकडी गर्दै लाखौँ ग्राहकको घरजग्गा लिलाम गरी बिल्लीबाठ बनाएका न्यौपाने यतिबेला संचालककै तारो बनेका छन्। उनलाई यतिबेला न त बैंकका कर्मचारीले टेर्छन् न त ग्राहकले रुचाउँछन्।
कारबाहीमा पर्नुअघि उनले राष्ट्र बैंकलाई बैंक छोड्ने बचन दिँदै नगद जरिवाना नगरिदिन भनेका थिए। यसको सम्पूर्ण सेटिङ्ग थापाले नै मिलाएका थिए। सोहि अनुसार सुपरिवेक्षण विभागले नगद जरिवाना गर्नुपर्ने भन्दै दिएको सुझाव र नीति निर्देशन समितिले बुझाएको प्रतिवेदनलाई समेत वेवास्ता गरी गभर्नर महाप्रसाद अघिकारीले उनलाई नसिहत मात्रै दिएर उन्मुक्ति दिए। तर, संचालक समितिले ‘बिगारेका कर्जा उठाएर, ब्यालेन्स सिट सपारेर’ मात्र जानु भनेपछि उनको राजिनामा अझै स्वीकृत भएको छैन। बैंक स्रोत भन्छ,- ‘उनी अहिले बैंकमा हाजिर गर्छन्, ‘लेमन ट्री’ मा गएर दिनभरी टहलिन्छन्, आफ्नै कम्पनीका काममा व्यस्त भएर घर फर्किन्छन्।’
संचालक समितिले नै असहयोग गरेपछि जसरी हुन्छ दोस्रो कार्यकालको बाँकी समय कटाउने र तलब पचाउने उनको दैनिकी जस्तै बनेको छ।
आफ्नो व्यवस्थापकीय असक्षमताको विल्ला जुनियरमाथि थोपर्दै जिम्मेवारीदेखि उम्किने र तिनै जुनियरलाई १६ घण्टासम्म काममा लगाएर संचालकको स्याबासी लिन चतुर न्यौपानेलाई यतिबेला भने डेपुटी सीइओ राठी नै सहयोग गर्दैनन्। राठी न्यापानेको राजिनामा स्वीकृत होला र सीइओ बनौंला भन्ने आकाक्षां बोकेर बसेका छन्। यस अघि पनि सीनियर डेपुटी सुधिरनाथ पाण्डेलाई राष्ट्र बैंकले कारबाही गर्ने वातवरण सिर्जना गरिदिएपछि उनलाई बैंक छाड्न बाध्य बनाइएको थियो। पाण्डेले बैंक छोडेपछि उनी सिनियर डेपुटी बनेका हुन्। सीइओ बन्ने पालो उनैको हो।
त्यस्तै, कुनै समय सीइओ न्यौपानेको दाहिने हात भएर उनको गैरकानूनी काममा समेत सघाउँदै आएका रिकोभरी हेड अर्जुनराज खनियाले समेत उनलाई टेर्न छाडेका छन् । स्रोतका अनुसार सुरुमा जथाभावी कर्जा दिने निर्देशन दिने र अहिले नियमविपरित तिनै कर्जा असुल गर्न सीईओको सुझावमा संचालक समितिलेनै दवाव दिन थालेपछि उनी पनि आजित छन्।
बैंक स्रोतका अनुसार न्यौपाने बोर्ड बैठक भएका बेला मात्रै आफिस आउने गरेका छन्। आँफू काममा व्यस्त भएको देखाउन अन्य कर्मचारीलाई समेत बिहान सतै बजे आफिस आउन उर्दी जारी गर्छन् राती १२ बजेसम्म पनि घर जाने अनुमति दिंदैनन्। जसका कारण बैंकका उच्च व्यवस्थापनका कर्मचारी समेत आजित छन्। बैंकका उच्च व्यवस्थापनका कर्मचारी भन्छन्, -‘हामीले महिनाभरी हलीले जस्तै गरी मरेर काम गर्नुपर्छ जस हामीले पाईन्न, उनैले लिने हो।’ तर, पछिल्लो समय अध्यक्ष तुलसीराम अग्रवालले उनले लगेका कुनैपनि एजेन्डा पास गर्ने गरेका छैनन्। एउटा बैठकमा उनका झन्डै १०० वटा एजेन्डा हुन्छन्, बल्ल तल्ल ५ वटा एजेन्डा पास हुन्छ। त्यसको अपजस पनि हामी माथि नै थोपर्ने गर्छन्।’ उनले थपे।
यस सम्बन्धमा बुझ्न हामीले सीइओ न्यापानेलाई पटक पटक सम्पर्क गर्यौ तर उनी सम्पर्कमा आउन चाहेनन्।
एनआईसी एशिया बैंकका कर्मचारीनै ‘बिचौलिया’: सीईओकै संरक्षणमा ‘गोठालो’ द्वारा करोडौं निक्षेप अपचलन
एनआईसी एशिया बैंकको नाफा ९१.८१ प्रतिशतले घट्यो, बैंक साढे ३ अर्ब घाटामा
हिमालयन, एनआईसी र प्रभु बैंक राष्ट्र बैंकको कारबाहीमा: सीइओ राणा र शेरचनलाई सचेत, न्यौपानेलाई नसिहत






