काठमाडौँ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफामा ५२.३१ प्रतिशतको गिरावट आएको छ । खराब कर्जा बढेकाले बैंकको खुद नाफा घटेको देखिन्छ ।
चालु आर्थिक समीक्षा अवधिसम्ममा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको तुलनामा ५२.३१ प्रतिशत कम हो। बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी ९.९५ प्रतिशतले घटेर ८ अर्ब १८ करोड रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद नाफा ९ अर्ब ९ करोड रुपैयाँ थियो ।
बैंकको सञ्चालन नाफा ३७.३१ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड रुपैयाँमा खुम्चिएको छ । यसको इम्पेयरमेन्ट चार्ज भने २३ करोडबाट बढेर दुई अर्ब १४ करोड रुपैयाँ रहेको छ ।
एनआइसीको खराब कर्जा दर ०.७४ प्रतिशत विन्दुबाट बढेर १.७६ प्रतिशत पुगेको छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा १५ रुपैयाँ ४२ पैसा ऋणात्मक रहेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१७.२९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०५.४७ रुपैयाँ,मूल्य आम्दानी अनुपात २२.८५ गुणा,र कुल सम्पत्तिमा प्रतिफल ०.६८ प्रतिशत रहेको छ ।
गत वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।