काठमाडौं। एनआइसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिमा व्यापक अनियमितता देखिएको छ। बैंकका सञ्चालक रामचन्द्र संघाईमाथि पटक–पटक समितिको बैठकमा अनुपस्थित रहेको झुटा बहाना प्रस्तुत गर्दै लाखौं रुपैयाँको भत्तावापत लिंदै आएको पाईएको छ।
प्राप्त विवरण अनुसार संघाईले २०७८/०८/१० देखि २०७९/१२/२८ सम्म भएका सञ्चालक समिति बैठकमध्ये अधिकांशमा सहभागिता जनाएका छैनन्। तर, प्रत्येक बैठकमा अनुपस्थितिका लागि उनले ‘विदेश भ्रमण’, ‘अत्यावश्यक कारण’, ‘स्वास्थ्य समस्या’ लगायतका बहाना देखाउँदै भत्ता बुझ्दै आएका छन्।
संघाईले २०७८/०८/१० को बैठकमा “विशेष व्यस्तता” देखाएर अनुपस्थित भएका संघाईले भत्ता लिएका छन्। २०७९/०२/१२, २०७९/०३/२७, र २०७९/०४/२० मा पनि यस्तै ढंगले अनुपस्थित रहेर भत्ता लिएको देखिन्छ।
एनआइसी एशिया बैंकको सञ्चालक समिति सदस्यले एउटा बैठकमा उपस्थिति भएवापत औसतमा २५,००० देखि ५०,००० रुपैयाँसम्मको भत्ता पाउने व्यवस्था छ। यस आधारमा संघाईले झण्डै ५ लाख रुपैयाँभन्दा बढी भत्ता अनुपस्थित कै समयमा लिएको देखिन्छ।
बैंकको आन्तरिक लेखा परीक्षण र नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले समेत यस्ता अनियमिततामा आँखा चिम्लिएको आरोप छ। यसले बैंकको सुशासन र पारदर्शितामाथि प्रश्न उठाएको छ। बैंकिङ क्षेत्रमा यो प्रवृत्तिले ‘सञ्चालक’ हैसियतका व्यक्ति जनहितको नाममा कसरी व्यक्तिगत लाभ उठाइरहेका छन् भन्ने कुरालाई स्पष्ट पारेको छ। संघाईमाथि बैंकको आन्तरिक छानबिन समिति वा नियामक निकायले छानबिन अघि बढाउनुपर्ने माग उठिरहेको छ। यस किसिमको संस्थागत भ्रष्टाचार र चलखेल विरुद्ध लगानीकर्ताले पटक-पटक आवाज उठाएको भए पनि बैंक नेतृत्व र नियामक निकाय समेत मौन छ।
संघाई पटक–पटक संचालक समितिको बैठकमा अनुपस्थित हुँदै आएका छन्। बैंकको नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने संचालक समितिको हरेक बैठकमा लामो समयसम्म गैरहाजिर रहँदा बैंकको सुशासन र पारदर्शिता प्रति गम्भीर प्रश्न उब्जिएको छ।
बैंक संचालक समिति बैठकमा सदस्य नै अनुपस्थित रहँदा लगानीकर्ता तथा कर्मचारी व्यवस्थापनले समेत उनीमाथि गैर जिम्मेवार संचालकको लगाएका छन् । बैंक तथा वित्तीय सँस्था सम्बन्धि ऐन(वाफिया) मा संचालक समिति बैठकमा अध्यक्ष लगायत सम्पूर्ण सदस्य अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ तर संघाईले यस नियमको उलंघन गर्दै आएका छन्।
आर्थिक बर्ष २०८०/८१ मा पनि बैंक संचालक समितिको मुख्य १६ मध्ये १० वटा बैठकमा उनी अनुपस्थित छन् । विदेश भ्रमणको बहाना बनाएर संघाई आँफै हरेक बैठकमा अनुपस्थित हुँदै आएपछि बैंकका अन्य संचालकहरु समेत नियमित रूपमा बैठकमा अनुपस्थित हुन थालेका छन्। यसरी पटक पटक अनुपस्थित हुने अन्य संचालकमा त्रिलोक चन्द्र अग्रवाल र आदित्य कुमार अग्रवाल छन्। सबैभन्दा कम उपस्थित हुनेमा संघाई छन्।
उनी बिशेष काम भन्दै २०८०/८/ १०/ २०८०/९/१४, २०८०/९/१५, २०८०/१०/११, २०८०/१०/१२ बैठकमै गएनन् भने २०८०/१२/२, २०८१/०२/३०, २०८१/०२/३०, २०८१/०३ /०५, २०८१/०३ /१३ मा बैठकहरुमा विदेश भ्रमण भन्दै उपस्थित भएनन्। बैंक व्यवस्थापन स्रोतका अनुसार बैठकमा उपस्थित भएका दिन पनि उनी हाजिर गर्छन् हिँडिहाल्छन्।
बर्षभरी जस्तै अनुपस्थित रहेका संघाईले आव २०८०/८१ मा बैठकभत्ता भने ७९२,००० (सात लाख बयाननब्बे हजार ) रूपैयाँ भत्ता बुझेका छन्।
संचालक आँफै बैठकमा अनुपस्थित रही निर्णय प्रक्रियाबाट टाढा रहनु नियामकीय नियमको उल्लंघन मात्र नभई बैंकको समग्र कार्यसम्पादन र पारदर्शितामा प्रतिकूल असर पार्ने विज्ञहरू बताउँछन्। संचालक समितिको बैठकजस्तो गम्भीर तहमा यस्ता गैरजिम्मेवार व्यक्ति तथा आचरणले संस्थागत कमजोरीलाई उदांगो पारिदिएको छ।
त्यसो, त एनआइसी एशिया बैंकको व्यवस्थापपकीय काम कारबाहीमा समेत राष्ट्र बैंकको निर्देशनविपतित ठाडो हस्तक्षेप गर्दै आएका अध्यक्ष तुलसीराम अग्रवालले बैंक संचालक समिति बैठक निजी निवास बिराटनगरबाटै चलाउने गरेका छन्। बैंकको कुनै पनि बैठकमा उनी भौतिक रुपमा उपस्थित हुँदैनन्। जसका कारण पनि बैंक व्यस्थापन र बोर्डबीच तालमेल छैन। यसको प्रत्यक्ष असर कार्यसम्पादनमा पर्दा बैंकको वित्तीय अवस्था नाजुक छ। बैंकका अघिकांश वित्तीय सूचक नकारात्मक छन्। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंक बैंकको नाफा ९१.८१ प्रतिशतले घटेको छ। बैंक साढे ३ अर्ब घाटामा छ।
त्यस्तै, बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार कोहि पनि संचालक यसरी आफ्नो प्रमुख दायित्वब पन्छिन मिल्दैन। यसैगरी सबै संचालक अनेक बहाना बनाउँदै पन्छिन थाले भने बैंक व्यवस्थापन महत्वकांक्षी हुने र बैंकको सुशासन वित्तीय प्रणालीमै गम्भीर आघात पुग्ने उनीहरुको भनाई छ। त्यस्तै, नेपाल राष्ट्र बैंकले प्रवृतिमाथि छानविन तथा अनुगमन गरीआवश्यक कारबाही प्रक्रिया अघि बढाउनु पर्ने उनीहरु बताउँछन् ।
संघाईमाथि बैंकबाट आफ्ना व्यापारिक स्वार्थ समेट्ने प्रयास गर्दै आएको आरोप छ। बैंकको संचालक समिति सदस्य भएर उनले बैंकबाट आफ्ना आफन्तका नाममा कम्पनी खडा गरी अनुचित लाभ लिंदै आएका छन्।
राष्ट्र बैंकले २०८१/८२ को दोस्रो त्रैमासमा एनआईसी एसिया बैंक लिमिटेडका अध्यक्ष, संचालक समिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई नसिहत नै दिएको छ।
बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्वद्ध संस्थाहरुलाई प्रकाशित व्याजदरभन्दा बढी व्याज प्रदान गरेको, बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको व्याज रकम फिर्ता गराएको हो ।
आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरी प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, अध्यक्ष श्री तुलसीराम अग्रवाल, संचालक श्री त्रिलोकचन्द्र अग्रवाल तथा संचालक श्री रामचन्द्र संघाइलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन सहित) को दफा १०० को उपदफा २(क) बमोजिम नसिहत दिएको थियो।
यस सम्बन्धमा उनी कुनै प्रतिक्रिया दिन चाहँदैनन्।
छुटाउनु भयो कि ?
एनआईसी एशिया बैंकमा ‘संगठित आर्थिक अपराध’: करोडौँका मालिक थापा भए सुकुम्बासी [फलोअप]
एनआईसी एशिया बैंकको अर्को फ्रड: ‘झुटा कागजात, फर्जी मूल्याङ्कन र घुस्याहा कर्मचारी'[ फलोअप]
हिमालयन, एनआईसी र प्रभु बैंक राष्ट्र बैंकको कारबाहीमा: सीइओ राणा र शेरचनलाई सचेत, न्यौपानेलाई नसिहत
एनआईसी एशिया बैंकको नाफा ९१.८१ प्रतिशतले घट्यो, बैंक साढे ३ अर्ब घाटामा
एनआईसी एशिया बैंकको उच्च व्यवस्थापनमा किचलो, १ महिनामै फेरियो तीन ‘ब्रान्डिङ्ग हेड’
एनआईसी एशिया बैंकका कर्मचारीनै ‘बिचौलिया’: सीईओकै संरक्षणमा ‘गोठालो’ द्वारा करोडौं निक्षेप अपचलन







