खुल्यो रिलायबल नेपाल लाइफको सेयर कारोबार

काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सेयर आज धितोपत्र दोस्रो बजारमा कारोबार खुलेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र स्पेसल प्रि–सेसनमा यो कम्पनीको सेयर किनबेच भएसँगै आजबाट नियमित सत्रका लागि कारोबार खुलेको हो। प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ४८६.६० रुपैयाँमा कारोबार भएको छ।

नेप्सेले यो कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १६२.२९ रुपैयाँ र अधिकतममा ४८६.८७ रुपैयाँ तोकेको थियो। रिलायबल नेपाल लाइफले नेप्सेबाट ‘आरएनएलआई’ कारोबार संकेत पाएको छ।

नेप्सेमा गत बुधबार रिलायबल नेपाल लाइफको सेयर सूचीकृत भएको थियो। गत बिहीबार सरकारले सार्वजनिक बिदा दिएकोले यो कम्पनीको सेयर आइतबारबाट कारोबारमा आएको हो।

नेप्सेमा रिलायबल लाइफको कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड ८० लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १ करोड २० लाख कित्ता सेयर रहेको छ।

रिलायबल नेपाल लाइफले गत साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। गत साउन ३१ गते यो आईपीओ बाँडफाँड गरिएको थियो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणलाई बिक्री गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *