मंसिर मसान्तभित्र ८ कम्पनीका सेयरमा लकइन अवधि सकिने

काठमाडौं । मंसिर मसान्तभित्र ८ वटा सूचीकृत कम्पनीको सेयरको लकइन अवधि समाप्त हुने भएको छ ।

लकइन अवधि समाप्त हुने कम्पनीहरूमा याम्बलिङ हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा, टक्सार पिखुवाखोला हाइड्रोपावर, स्नो रिभर्स, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, कालंगा हाइड्रोपावर र सानीगढ हाइड्रो रहेका छन् ।

यी कम्पनीमा संस्थापक, कर्मचारी, प्रभावित स्थानीय तथा सामूहिक लगानी कोषले होल्ड गरेको सेयरको लकइन अवधि समाप्त हुन लागेको हो । लकइन अवधि सकिएपछि सम्बन्धित सेयरधनीले दोस्रो बजारमा सेयर बिक्री गर्न पाउनेछन् ।

याम्बलिङ हाइड्रोपावरमा सामूहिक लगानी कोषले होल्ड गरेको १ लाख ५ हजार कित्ता सेयरको लकइन अवधि कात्तिक २९ गते समाप्त हुँदैछ ।

त्यस्तै, भिजन लुम्बिनी ऊर्जाको संस्थापकको १ करोड ५३ लाख कित्ता, प्रभावित स्थानीयको १४ लाख २४ हजार ५९० कित्ता र कर्मचारीको ३८ हजार २५० कित्ता गरी कुल १ करोड ६७ लाख ६२ हजार ८४० कित्ता सेयरको लकइन अवधि मंसिर ४ गते सकिँदैछ ।

टक्सार पिखुवाखोला हाइड्रोपावरमा सामूहिक लगानी कोषको १ लाख ४९ हजार ३२ कित्ता सेयरको लकइन अवधि मंसिर ५ गते समाप्त हुनेछ । स्नो रिभर्समा सामूहिक लगानी कोषले होल्ड गरेको ४६ हजार ८७५ कित्ता सेयरको लकइन अवधि मंसिर ११ गते सकिनेछ ।

मुक्तिनाथ कृषि कम्पनीमा संस्थापकको ६० लाख ४८ हजार कित्ता र कर्मचारीको ४५ हजार ३६० कित्ता गरी कुल ६० लाख ९३ हजार ३६० कित्ता सेयरको लकइन अवधि मंसिर १८ गते समाप्त हुनेछ ।

नेपाल वेयरहाउजिङ कम्पनीमा संस्थापकको ५५ लाख कित्ता र कर्मचारीको २७ हजार ५०० कित्ता सेयरको लकइन अवधि मंसिर १९ गते सकिँदैछ ।

यसैगरी, कालंगा हाइड्रोपावरमा सामूहिक लगानी कोषको १ लाख ७५ हजार कित्ता सेयरको लकइन अवधि मंसिर २६ गते तथा सानीगढ हाइड्रोमा सामूहिक लगानी कोषको २ लाख ८५ हजार कित्ता सेयरको लकइन अवधि मंसिर २९ गते समाप्त हुनेछ ।

सामान्य व्यवस्थाअनुसार सर्वसाधारणलाई सेयर बाँडफाँट भएको मितिले सामूहिक लगानी कोषको सेयरमा ६ महिना तथा संस्थापक र प्रभावित स्थानीयको सेयरमा तीन वर्षसम्म लकइन अवधि कायम रहने व्यवस्था छ ।

लकइन अवधि समाप्त भएपछि सम्बन्धित सेयरधनीले दोस्रो बजारमा प्रचलित मूल्यमा सेयर बिक्री गर्न पाउनेछन् । यससँगै बजारमा सेयर आपूर्ति बढ्न सक्ने भएकाले लकइन खुल्ने कम्पनीहरूको सेयर मूल्यमा बिक्री चाप पर्न सक्ने सम्भावना रहन्छ । कम्पनीहरूले लकइन अवधि समाप्त हुनुभन्दा एक महिनाअघि नै सार्वजनिक सूचनामार्फत लगानीकर्तालाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *