काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उछाल आएको छ । यस दिन सेयर बजारमा २.६७ प्रतिशतको वृद्धि भएको छ । सेयर बजार बढेसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् ।
मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ बिन्दुको उचाइमा पुगेको छ । ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १३.४० अंकले बढेर ४१२.५१ बिन्दुमा उक्लिएको छ ।
यस दिन २७५ कम्पनीको एक करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार अवधिभर १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ कम्पनीको सेयर मूल्य घटेको छ ।
यसदिन लघुवित्त, फाइनान्स र बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । कुल १३ उपसमूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ उपसूचक राताम्मे बनेको छ ।
यो दिन लघुवित्त समूह सर्वाधिक ८.९६ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ४.४४ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ३.९३ प्रतिशत, विकास बैंक समूहमा १.३६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०५ प्रतिशत, जलविद्युत समूहमा १.५६ प्रतिशत, लगानी समूहमा ०.०७ प्रतिशत, जीवन बीमा समूहमा ०.७७ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.६३ प्रतिशत र अन्य समूहमा १.९६ प्रतिशतले बढेको छ ।
आज व्यापार समूह सर्वाधिक ०.६६ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.१७ प्रतिशतले घट्दा निर्जीवन बीमा समूहमा ०.१३ प्रतिशतको गिरावट आएको छ।
सेयर बजारमा हरियाली छाएसँगै ३४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, हिमालयन लाइफ, नेरुडे लघुवित्त लगायत अन्य कम्पनीको सेयरमा सर्किट लागेको छ ।
सिक्लेस हाइड्रोपावर, गरिमा डिभेन्चर, राष्ट्रिय बीमा कम्पनी, सेन्चुरी डिभेन्चर लगायत अन्य कम्पनीहरुको सेयरमूल्य घटेको छ ।
यो दिन स्वावलम्बन लघुवित्तको सर्वाधिक २५ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। त्यसैगरी, शिवम सिमेन्टको २२ करोड ६३ लाख रुपैयाँबर सोल्टी होटेलको २२ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।




