काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो । शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् । उनीसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।
शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए । गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए ।
यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।
सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न भएको अरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।
ललिता निवास प्रकरणमा यसअघि तीनसय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । त्यसपछि अनुसन्धान जारी रहेको बताए पनि थप प्रगति भएको थिएन । पछिल्लो चरणमा भने सिआइवीले अनुसन्धान तीव्र पारेको थियो ।
उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । हाल उक्त मुद्दा विचाराधीन छ ।
सिआइवीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले ललिता निवासको जग्गामा सरकारी लिखत कीर्ते भएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो ।




