प्रभु महालक्ष्मी लाइफको नाफा ४५.८९ प्रतिशतले बढ्यो, ईपीएस ७.०१ रुपैयाँ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५.८९ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा ९ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो।

नाफासँगै कम्पनीको बीमा व्यवसायमा पनि वृद्धि देखिएको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिमा आर्जित १ अर्ब ४४ करोड ३५ लाख रुपैयाँको तुलनामा ३०.२५ प्रतिशतले बढी हो।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन ३०.३० प्रतिशतले वृद्धि भएर १ अर्ब ८१ करोड ६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन तुलनात्मक रूपमा कम थियो।

कम्पनीको जीवन बीमा कोष पनि उल्लेख्य रूपमा विस्तार भएको छ। असोज मसान्तसम्ममा जीवन बीमा कोष ३२.८१ प्रतिशतले बढेर १९ अर्ब ७१ करोड ८६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष १४ अर्ब ८४ करोड ६८ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेको छ। कम्पनीको रिटेन्ड अर्निङ ५१ करोड ७० लाख रुपैयाँ र महाविपत्ति कोषमा १५ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। त्यस्तै, अन्य इक्विटी ३७ करोड ६१ लाख रुपैयाँ तथा सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ४.८१ रुपैयाँ रहेको ईपीएस समीक्षा अवधिमा बढेर ७.०१ रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १२०.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.३४ गुणा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *