काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सामान्य वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा २४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको २३ करोड ९२ लाख रुपैयाँको तुलनामा २.३६ प्रतिशतले बढी हो।
कम्पनीको बीमा व्यवसायमा भने नाफाको तुलनामा उच्च वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १ अर्ब २९ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ८ करोड ३४ लाख रुपैयाँ थियो। यससँगै कम्पनीको कुल बीमाशुल्क आर्जन २० प्रतिशतले बढेको छ।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १९.६७ प्रतिशतले वृद्धि भएर १ अर्ब २४ करोड ६४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ४ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको जीवन बीमा कोषको आकार पनि विस्तार भएको छ। असोज मसान्तसम्ममा जीवन बीमा कोष ३.२१ प्रतिशतले बढेर १३ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कोष १२ अर्ब ९० करोड ३६ लाख रुपैयाँ रहेको थियो।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब २८ करोड २७ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको सेयर प्रिमियम १ अर्ब ३० करोड १० लाख रुपैयाँ, महाविपत्ति कोष २८ करोड ७२ लाख रुपैयाँ र रिटेन्ड अर्निङ ७७ करोड ७१ लाख रुपैयाँ रहेको छ। त्यस्तै, अन्य इक्विटी ३५ करोड ६ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।




