काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन संसद्मा पेस गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
बुधबार बसेको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै तामाङले राष्ट्र बैंक संसद्प्रति पनि जवाफदेही हुनुपर्ने बताएका हुन्।
राष्ट्र बैंकजस्तो नियामक निकाय जनताका प्रतिनिधिको सर्वोच्च संस्था संसद्प्रति जवाफदेही हुनुपर्ने भन्दै उनले वार्षिक प्रतिवेदन संसद्मा पेस गर्ने व्यवस्था आवश्यक रहेको बताए। समितिमा उठेका तर निर्णयमा समेटिन नसकेका फरक मतलाई समेत औपचारिक रूपमा अभिलेख गर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ थियो।
‘संसद् भनेको सार्वभौम जनताको प्रतिनिधि संस्था हो। त्यसैको अङ्गका रूपमा अर्थ समिति भएको हुनाले राष्ट्र बैंकको वार्षिक प्रतिवेदन संसद्मा लैजानुपर्छ भन्ने मेरो राय हो,’ तामाङले भने, ‘यो समितिमा यो कुरा उठेको थियो भन्ने कुरा फूल हाउसले पनि थाहा पाउनुपर्यो र देशका जनताले पनि थाहा पाउनुपर्यो।’
उनले राष्ट्र बैंकको स्वायत्तताको विषयमा जोड दिइरहँदा सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने व्यवस्था पुनःस्थापित गरिएको विषयमा समेत प्रश्न उठाए। स्वायत्तता र सरकारी निर्देशनबीचको सम्बन्धलाई विधेयकले कसरी सम्बोधन गरेको छ भन्ने विषयमा स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो।
छलफलका क्रममा आफूले उठाएका दुई विषयलाई विशेष रूपमा समितिको प्रतिवेदनमा अभिलेख गर्नुपर्ने तामाङले बताए। उनका अनुसार राष्ट्र बैंकको वार्षिक प्रतिवेदन संसद्मा पेस गर्नुपर्ने तथा गभर्नर, डेपुटी गभर्नर र तीन जना विज्ञ सम्मिलित मौद्रिक नीति समिति गठन गर्नुपर्ने विषय समितिमा छलफलमा आएका थिए। तर ती विषय समितिको निर्णयमा समावेश हुन नसकेको उनले उल्लेख गरे।
समितिको निर्णयप्रति आफूले अवरोध सिर्जना गर्न नखोजेको स्पष्ट पार्दै तामाङले समितिको निर्णयलाई सम्मान गर्ने बताए। तर समितिमा छलफलका क्रममा उठेका फरक मतलाई समेत प्रतिवेदनमा अनिवार्य रूपमा अभिलेख गर्ने व्यवस्था हुनुपर्नेमा उनले जोड दिए।





