साइबर जोखिमबाट जोगिन बैंकका वेबसाइट बन्द, रकम र विवरण सुरक्षित रहेको राष्ट्र बैंकको भनाइ

काठमाडौं । पीएचपी प्रोग्रामिङ प्रणालीमा सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीले आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गरेका छन् । सम्भावित साइबर आक्रमणबाट जोगिन भन्दै वित्तीय संस्थाहरूले अनलाइन प्रणालीको सुरक्षा जाँच र अद्यावधिक थालेका हुन् ।

वेबसाइट बन्द हुँदा अनलाइन बैंकिङ, नयाँ खाता खोल्ने, ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्ने तथा केही डिजिटल भुक्तानी सेवामा अस्थायी अवरोध देखिएको छ । यद्यपि, वेबसाइट बन्द गरिएको घटनालाई बैंकिङ प्रणाली ह्याक भएको वा ग्राहकको विवरण चोरी भएको प्रमाणका रूपमा लिन नहुने नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पीएचपीमा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राखेर वेबसाइट तथा अनलाइन प्रणालीलाई इन्टरनेटबाट अलग राखिएको बताए । प्राविधिक टोलीले आवश्यक सुरक्षा अद्यावधिकको काम गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार बैंक तथा वित्तीय संस्थालाई अनलाइन प्रणाली सञ्चालन गर्दा सतर्कता अपनाउन निर्देशन दिइएको छ । राष्ट्र बैंकमा पेस गर्नुपर्ने केही प्रतिवेदनसम्बन्धी कामसमेत अफलाइन माध्यमबाट गर्न भनिएको छ ।

राष्ट्र बैंकले हालसम्म बैंकिङ प्रणालीमा समस्या आएको वा सर्वसाधारणको रकम तथा व्यक्तिगत विवरण चोरी भएको पुष्टि नभएको जनाएको छ । सम्भावित जोखिम नियन्त्रणका लागि अपनाइएको सावधानीलाई बैंक ह्याक भएको घटनाका रूपमा बुझ्न नहुने अधिकारीहरूको भनाइ छ ।

नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार बैंकहरूले सम्भावित जोखिमबाट जोगिन वेबसाइटमा उपलब्ध सार्वजनिक विवरण तथा सेवाहरूको सुरक्षा परीक्षण गरिरहेका छन् । उनका अनुसार वेबसाइटमा देखिएको समस्याले बैंकहरूको मुख्य बैंकिङ प्रणालीमा प्रत्यक्ष असर पारेको छैन ।

यसबीच केही बैंकले सुरक्षा अद्यावधिक पूरा गरी वेबसाइट पुनः सञ्चालनमा ल्याएका छन् ।

पीएचपीसम्बन्धी सुरक्षा जोखिम नेपालमा मात्र सीमित नरहेको र विश्वका विभिन्न सरकारी तथा निजी वेबसाइटसमेत प्रभावित भएको जनाइएको छ । जोखिम नियन्त्रणका लागि सम्बन्धित निकायले प्रणाली अद्यावधिक गर्ने, सुरक्षा परीक्षण गर्ने वा जोखिम हट्ने सुनिश्चित नहुँदासम्म वेबसाइट अस्थायी रूपमा बन्द गर्ने उपाय अपनाएका छन् ।

प्राविधिक विज्ञहरूले जोखिमयुक्त सफ्टवेयर प्रयोग गरिरहेका संस्थालाई आवश्यक सुरक्षा प्याच तथा नयाँ संस्करण जडान गर्न र प्रणालीको सुरक्षा परीक्षण गर्न सुझाव दिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले पनि जोखिम मूल्याङ्कन र सुरक्षा अद्यावधिक पूरा गरेपछि प्रभावित सेवाहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *