काठमाडौं । भोटेकोसी–त्रिशूली क्षेत्रमा गएको बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि नेपालले करिब तीन अर्ब रुपैयाँ अनुदान पाउने भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी हानिनोक्सानी कोषले दुई करोड अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेसँगै सरकारले रकम प्राप्ति र परिचालनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
कोषको कात्तिक ५ गते बसेको बैठकले नेपाललाई अनुदान दिने निर्णय गरेको हो । गत भदौ १० गतेको बाढीबाट प्रभावित समुदायको आवश्यकता सम्बोधन गर्न सरकारले गरेको अनुरोधका आधारमा सहयोग स्वीकृत भएको हो ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालका अनुसार कोषको सचिवालयबाट औपचारिक पत्र र कार्यविधि प्राप्त भएपछि नेपालले विस्तृत प्रस्ताव पेस गर्नेछ । अनुदान प्रभावित परिवारको पुनःस्थापना, जीविकोपार्जन र पुनर्निर्माणमा परिचालन गर्ने सरकारको तयारी छ ।
सरकारका प्रारम्भिक विवरणअनुसार बाढीबाट १५ हजार परिवारका ६० हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । प्रारम्भिक आर्थिक क्षति दुई अर्ब ७० करोड अमेरिकी डलर र पुनर्निर्माणका लागि चार अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान छ ।
प्रभावित समुदायसम्म अनुदान पुर्याउन परियोजना प्रस्ताव, स्वीकृति र कार्यान्वयनको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने अवास्यकता औल्याइएको छ । रकम प्राप्त गर्ने निर्णय भए पनि त्यसको वास्तविक लाभ प्रभावित समुदायसम्म पुर्याउनु सरकारका लागि मुख्य चुनौती बन्ने देखिएको छ ।





