‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा भारतविरोधी राष्ट्रवादको युग समाप्त भएको बताएका छन् । भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ लाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ प्रशासन भारतसँग अझ राम्रो सम्बन्ध निर्माण गर्न इच्छुक रहेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बदलिँदो राजनीतिक नेतृत्व र भारतसँगको सम्बन्धबारे धारणा राख्दै वाग्लेले नेपालमा नयाँ नेतृत्व आएको र यसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन चाहेको उल्लेख गरे । उनका अनुसार नेपाल र भारतबीचको सम्बन्धलाई विगतका राजनीतिक धारणा र उतारचढावबाट मात्र हेर्नुभन्दा साझा हित र सहकार्यका आधारमा अघि बढाउन आवश्यक छ ।

वाग्लेले नेपाल र भारतबीचको सम्बन्ध निकै गहिरो रहेको उल्लेख गर्दै भौगोलिक निकटतासँगै सांस्कृतिक सम्बन्धले पनि दुई देशलाई जोडेको बताए । कहिलेकाहीँ दुई देशबीच कठिनाइ र मतभेद देखिए पनि त्यसले समग्र सम्बन्धको महत्त्वलाई कमजोर नबनाउने उनको भनाइ थियो ।

‘भारत र नेपालबीचको सम्बन्ध निकै गहिरो छ । यी दुई देश भौगोलिक रूपमा मात्र नभई गहिरो सांस्कृतिक सम्बन्धका माध्यमबाट पनि जोडिएका छन्,’ उनले भने ।

अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री शाहले सन् २०२६ को अन्त्यसम्म भारत भ्रमण गर्न सक्ने पनि बताएका छन् । उक्त भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले दुई देशबीच आपसी समझदारी र सहकार्य विस्तार हुने अपेक्षा राखे ।

नेपालको नयाँ नेतृत्वले भारतसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको संकेत गर्दै वाग्लेले भारतको आर्थिक विकासबाट नेपालले समेत लाभ लिन सक्ने बताए । भारतको तीव्र आर्थिक प्रगतिसँगै नेपालले व्यापार, लगानी, पूर्वाधार विकास तथा आर्थिक सहकार्यका क्षेत्रमा अवसर प्राप्त गर्न सक्ने उनको भनाइको आशय थियो ।

नेपाल र भारतबीच खुला सीमा, व्यापारिक सम्बन्ध, पारिवारिक आवतजावत तथा सांस्कृतिक समानताका कारण जनस्तरमा समेत निकट सम्बन्ध रहँदै आएको छ । यद्यपि, दुई देशबीच विभिन्न समयमा राजनीतिक तथा कूटनीतिक मतभेद पनि देखिँदै आएका छन् । अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले ती मतभेदभन्दा साझा हित र सहकार्यलाई प्राथमिकता दिनुपर्ने सरकारको दृष्टिकोणलाई संकेत गरेको छ ।

यसैबीच, वाग्लेले विपद्का समयमा नेपाललाई सहयोग गरेको भन्दै भारतको प्रशंसासमेत गरे । भूकम्पदेखि पछिल्ला बाढीसम्मका विपद्मा भारतले नेपाललाई सहयोग गर्न अग्रसरता देखाएको उल्लेख गर्दै उनले कठिन परिस्थितिमा प्राप्त सहयोगको महत्त्व औंल्याए ।

नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण, आर्थिक साझेदारी र आपसी विश्वास महत्त्वपूर्ण हुने उनको भनाइ छ । प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणलाई पनि यही सन्दर्भमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *