काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ०.३ प्रतिशतले घटेको छ । पहिलो महिना २० अर्ब ७१ करोडले घटेर ८२ खर्ब ५६ अर्ब २१ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । तर, वार्षिक बिन्दुगत आधारमा भने निक्षेप १४.५ प्रतिशतले बढेको छ ।
यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ०.४ प्रतिशत २३ अर्ब ५८ करोडले बढेर ५० खर्ब ८० अर्ब ६४ करोड पुगेको छ । वार्षिक बिन्दुगत आधारमा कर्जा विस्तार ७।० प्रतिशत रहेको छ ।
बैंकिङ प्रणालीमा ब्याजदर उल्लेख्य रूपमा घटेको छ । वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर अघिल्लो वर्षको साउनमा ७.७६ प्रतिशत रहेकोमा घटेर ६.४८ प्रतिशत कायम भएको छ । यस्तै, निक्षेपको औसत ब्याजदर ४.०२ प्रतिशतबाट घटेर ३.१५ प्रतिशतमा झरेको छ ।
बैंकहरूको औसत आधार दर पनि ५.७८ प्रतिशतबाट घटेर ४.७२ प्रतिशतमा सीमित भएको छ । अन्तर बैङ्क ब्याजदर भने २.७५ प्रतिशतमा स्थिर छ ।




