काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालको वस्तु व्यापार घाटा २४.९ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा २.५ प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल वस्तु निर्यात ६१.७ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। भारततर्फ निर्यात ७१ प्रतिशत र चीनतर्फ २८७.८ प्रतिशतले बढेको छ।
खासगरी भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, जुटका सामान र पार्टिकल बोर्डको निर्यात बढेको छ भने आयुर्वेदिक औषधि, जडीबुटी, प्रशोधित छाला र नेपाली कागजको निर्यात घटेको छ ।
वस्तु आयात पनि ३१.० प्रतिशतले बढेर १८७ अर्ब ४४ करोड पुगेको छ । पेट्रोलियम पदार्थ, रासायनिक मल, खाने तेल र कच्चा भटमासको तेलको आयात बढेको छ भने धान, चामल, सुन, अलकत्रा, कोइला तथा मेडिकल सामानको आयातमा कमी आएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात बढेर २०.६ प्रतिशत पुगेको छ ।




