काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा ऐतिहासिक सफलता हासिल गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले आफ्नो इतिहासमै पहिलोपटक ४ अर्ब रुपैयाँ खुद नाफा कमाएको हो ।
बैंकले गत आर्थिक वर्षको तुलनामा खुद नाफामा ४०.६ प्रतिशतको उत्साहजनक वृद्धि गरेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले यस आर्थिक वर्षमा त्यसलाई बढाएर ४ अर्ब १ करोड रुपैयाँ पुर्याएको हो।
यस अवधिमा नाफासँगै बैंकका अन्य महत्वपूर्ण सूचकहरुमा उल्लेख्य सुधार देखिएको छ । जसअनुसार बैंकको पुँजी प्रतिफल ११.५८ प्रतिशत र सम्पत्ति प्रतिफल १.०४ प्रतिशत कायम भएको छ।
बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत पुगेको छ। त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।
बैंकका अनसार डिजिटल बैंकिङ र ट्रान्ज्याक्सन बैंकिङमा गरिएको लगानीले आम्दानी उलेख्य मात्रामा बढेको हो।
समिक्षा अवधिमा बैंकको शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा आएको सुधारका कारण बैंकको ट्रेडिङ आम्दानीमा ८९ प्रतिशतको ठूलो छलाङ मार्दै ६८ करोड १४ लाख रुपैयाँ पुगेको छ।
वित्तीय विवरणमा देखिएको उल्लेख्य सुधारसँगै दिगो वृद्धि र डिजिटल वित्तीय सेवाको सुदृढीकरणमा केन्द्रित हुने बैंकको भनाई छ। साथै, बैंकले आफ्ना ग्राहक, शेयरधनी र सरोकारवालाहरूका लागि अधिकतम मूल्य सिर्जना गर्न निरन्तर क्रियाशील रहने प्रतिबद्धता पुन: दोहोर्याएको छ।




