गरिमा विकास बैंकले ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्ने

काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्ने भएको छ।

स्वस्थ जीवनशैली प्रवर्द्धन तथा खेलकुदमार्फत जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले रोड रेस प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता खुला, कर्पोरेट तथा भेट्रानलगायत विभिन्न विधामा सञ्चालन हुने जनाइएको छ।

प्रतियोगितामा करिब १ हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ।

खुलातर्फ महिला तथा पुरुष दुवै समूहका विजेताले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुनेले ३५ हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार रुपैयाँ, चौथो हुनेले १५ हजार रुपैयाँ तथा पाँचौं हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, कर्पोरेट तथा भेट्रान विधातर्फ प्रथम हुनेले ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार रुपैयाँ, तेस्रो हुनेले १४ हजार रुपैयाँ, चौथो हुनेले १० हजार रुपैयाँ तथा पाँचौं हुनेले ७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ।

प्रतियोगितामा विजयी हुने खेलाडीलाई नगद पुरस्कारसँगै मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिनेछ। रोड रेसको खुलातर्फ १० किलोमिटर तथा कर्पोरेट र भेट्रानतर्फ ५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गराइने जनाइएको छ। महिला तथा पुरुष दुवै समूहका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।

बैंकले यसअघि पनि ‘गरिमा रोड रेस’का संस्करण आयोजना गर्दै आएको छ। अघिल्लो संस्करणमा १ हजारभन्दा बढी धावक सहभागी भएका थिए। प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले तोकिएको अवधिभित्र अनलाइन माध्यमबाट नाम दर्ता गर्न सक्नेछन्।

गरिमा विकास बैंकले खेलकुद, स्वास्थ्य सचेतना तथा सामाजिक उत्तरदायित्वसँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *