काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्धको सैन्य अभियानलगायत विभिन्न प्रयोजनका लागि ८७ अर्ब ६० करोड अमेरिकी डलर अतिरिक्त बजेट स्वीकृत गर्न अमेरिकी संसद्समक्ष प्रस्ताव पेश गरेको छ।
व्यवस्थापन तथा बजेट कार्यालयले बुधबार संसदमा पेश गरेको प्रस्तावअनुसार करिब ६७ अर्ब डलर रक्षा मन्त्रालयका लागि छुट्याइएको छ।
उक्त रकम सैन्य अभियान सञ्चालन, सैनिक तयारी तथा हतियार भण्डार पुनःस्थापनामा खर्च गरिने जनाइएको छ।
यो प्रस्ताव संसदले इरानसम्बन्धी सैन्य गतिविधिमा राष्ट्रपति ट्रम्पले अघि बढ्नुअघि संसदीय स्वीकृति लिनुपर्ने मागसहितको युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित गरेको भोलिपल्ट आएको हो।
युद्धबारे रिपब्लिकन दलभित्रै मतभेद देखिएको छ भने केही सांसदले प्रशासनले संसद र जनतालाई पर्याप्त जानकारी नदिएको आरोप लगाएका छन्।
हालै सार्वजनिक एक सर्वेक्षणअनुसार इरान युद्धको लागत उचित रहेको ठान्ने अमेरिकीको संख्या २४ प्रतिशत मात्र रहेको छ।
प्रस्तावित बजेटमध्ये २१ अर्ब डलर हतियार तथा गोलाबारुद, १७ अर्ब ३० करोड डलर सञ्चालन खर्च र २१ अर्ब १० करोड डलर गोप्य कार्यक्रमका लागि विनियोजन गरिएको छ।
रक्षा खर्चबाहेक कृषिक्षेत्र, इबोला नियन्त्रण तथा पूर्वाधार विकासका कार्यक्रमका लागि पनि रकम प्रस्ताव गरिएको छ।
प्रस्तावअनुसार कृषिक्षेत्रका लागि ११ अर्ब १० करोड डलर, इबोला नियन्त्रणका लागि १ अर्ब ४० करोड डलर तथा न्यूयोर्कको पेन स्टेशन स्तरोन्नतिका लागि १ अर्ब डलर छुट्याइएको छ।
डेमोक्र्याट सांसदहरूले प्रस्तावको विरोध जनाएका छन् भने समर्थकहरूले राष्ट्रिय सुरक्षा सुदृढीकरणका लागि अतिरिक्त रक्षा खर्च आवश्यक रहेको बताएका छन्।





