काठमाडौं। अमेरिका र इरानबीच शान्ति सम्झौता हुन लागेको समाचार बाहिरिएसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई सातायताकै कम विन्दुमा पुगेको छ।
दुई देशबीच मतभेद कायमै हुँदा पनि सकारात्मक वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। मूलतः स्ट्रेट अफ होर्मुजमा जारी नाकाबन्दीले मध्यपूर्वबाट हुने तेल आपूर्ति प्रभावित भइरहेका बेला सम्झौता हुने झिनो आशा पलाएको छ।
योसँगै अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ४.७१ डलर अर्थात् ४.५५ प्रतिशतले घटेर ९८.८३ डलरमा आइपुगेको छ। कच्चा तेलको यो मूल्य गत मे ७ तारिखपछि सबैभन्दा कम हो।
गत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र इरानबीच शान्ति सम्झौताको समझदारी पत्रमा ‘धेरैजसो बुँदामा सहमति’ भइसकेको दाबी गरेका थिए।
यो सम्झौता लागू भएमा होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने छ। हाल जारी द्वन्द्व सुरु हुनुअघि विश्वभर आपूर्ति हुने कुल कच्चा तेल र तरल प्राकृतिक ग्यास (एलएनजी)को २० प्रतिशत यही जलमार्ग हुँदै बाहिरिने गरेको छ।
यद्यपि, अन्य बजार विश्लेषकहरूले भने जलमार्ग खुला भए पनि उक्त क्षेत्रबाट तेलको प्रवाह पुरानै अवस्थामा फर्कन र द्वन्द्वका कारण क्षतिग्रस्त भएका तेल तथा ग्यासका संरचनाहरू मर्मत हुन समय लाग्ने बताएका छन्।






