पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण अब वेवसाइटबाट हेर्न सकिने

काठमाडौं । नेपाल प्रहरीले पहिचान नभएका शव र हराएका व्यक्तिहरुको विवरण अब वेवसाइटमा राख्न सुरु गरेको छ । वेवसाइटका माध्यमबाट अब हराएका व्यक्तिहरु खोज्न सहज हुने र शवहरुको पनि पहचिान गर्न सहज हुनेछ ।

आज प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले “पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण” राखिएको वेवसाइट उद्‍घाटन गरेका हुन् । उनले उक्त वेबसाइटलाई अझ नागरिक एपमा जोड्दा प्रभावकारी हुने बताए । वेबसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारी रूपमा संचालन गर्दै धेरै भन्दा धेरै सरोकारवाला व्यक्तिहरूको पहुँचमा पुर्‍याई बढी भन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरू सनाखत गर्न सहज र सक्षम हुने विश्वास प्रहरीको छ ।

नागरिक स्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिक रूपमै शवको सनाखत हुने वातारण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण संकलन गरेर वेवसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमित रूपमा अनुगमन गर्नुपर्ने प्रहरी प्रमुख कुँवरले बताए ।

दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी वेवारिसे शवहरूको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवहरूको विस्तृत विवरणसहित छुट्टै वेवपेज निर्माण गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको २०७८ वैशाख २ गतेको निर्णयबमोजिम नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको पहलमा पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण समेटी सम्पूर्ण विवरण एकै ठाउँबाट जानकारी लिन सकिने तथा कसैले व्यक्तिको पहिचान गरेमा आफ्नो जानकारी र विवरण रिपोर्ट गर्न सक्ने गरी निर्माण गरिएको वेवसाइट आजैबाट प्रयोगमा आएको छ । वेबसाइटमा जान udp.nepalpolice.gov.np टाइप गरी पुग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *