विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी नदी तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
कोशी ब्यारेजमा साँझ ५ः१५ बजे गरिएको मापनअनुसार नदीमा २ लाख ६५ हजार ७ सय ९५ क्युसेक पानीको बहाव पुगेको छ। नदीको जलसतह निरन्तर बढिरहेको भन्दै जोखिमलाई मध्यनजर गरी तटीय क्षेत्रमा सतर्कता बढाइएको हो।
बढ्दो जलसतह व्यवस्थापन गर्न कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्। पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले ब्यारेजको तल्लो तटीय क्षेत्र तथा डुबानको सम्भावना भएका बस्तीमा जोखिम बढ्न सक्ने जनाइएको छ।
सम्बन्धित निकायले नदी किनारमा नजान, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा राख्न र अनावश्यक रूपमा जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरेको छ। साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।




