काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले वेबसाइटमार्फत मौद्रिक नीति सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउने, ब्याजदर घटाउने, ठप्पप्राय बनेको कर्जा प्रवाहलाई गतिशील बनाउने लगायतका नीतिहरु लिएको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरेको छ । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।
राष्ट्र बैंकले बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलव्ध हुने व्यवस्थालाई यथावत राखेको छ ।
पहिलो आवासीय घर कर्जाको सीमा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड पुर्याइने राष्ट्र बैंकले जनाएको छ । पबैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तिमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिएको छ ।
राष्ट्र बैंकले सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ ।
त्यस्तै लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनका सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै लगिने पनि मौद्रिक नीतिमा उल्लेख छ ।
२०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गर्न नीति पनि मौद्रिक नीतिमार्फत लिएको छ ।
पूर्णपाठ हेर्नुहोस् :




