काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०२ प्रतिशतले वृद्धि भएको हो।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद नाफा १ अर्ब २८ करोड रुपैयाँ रहेको थियो। नाफामा उल्लेख्य वृद्धि भए पनि बैंकको खुद ब्याज आम्दानी भने घटेको छ। अघिल्लो वर्ष ६ अर्ब ४१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा ६ अर्ब २९ करोड रुपैयाँमा झरेको छ।
त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३४ करोड रुपैयाँबाट बढेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। बैंकको खुद सञ्चालन आम्दानीमा भने उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्ष ५ अर्ब ४९ करोड रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा बढेर ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
बैंकको रिजर्भ पनि बढेको छ। अघिल्लो वर्ष ७ अर्ब ४० करोड रुपैयाँ रहेको रिजर्भ समीक्षा अवधिमा बढेर ८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। यद्यपि, रिटेन्ड अर्निङ ७७ करोड ८१ लाख रुपैयाँबाट घटेर ५२ करोड ३१ लाख रुपैयाँ मा सीमित भएको छ।
समीक्षा अवधिसम्म बैंकले २ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ८२ करोड ९३ लाख रुपैयाँ रिभर्सल भएको छ।
बैंकको वितरणयोग्य मुनाफा ५ करोड २३ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता ३.३७ प्रतिशत कायम भएको छ।
बैंकको प्रतिसेयर आम्दानी EPS पनि बढेको छ। समीक्षा अवधिमा EPS १३.५३ रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ८.७१ रुपैयाँ थियो। त्यस्तै, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७३२.६२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६०.५१ रुपैयाँ रहेको छ।
बैंकको तरलता अनुपात ३३.०४ प्रतिशत र मूल्य–आम्दानी अनुपात १४.५५ गुणा कायम भएको छ।




