साइबर सुरक्षामा गम्भीर भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्  ।

शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक बोलाइ सो सम्बन्धमा गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन् ।

साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौति निम्तिन सक्ने भएकाले सरोकारवाल निकायले यसलाई गम्भीर भएर प्राथमिकतासाथ काम गर्नुपर्ने कुरामा प्रधानमन्त्री प्रचण्डले निर्देशित गरेको राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री प्रचण्ड समक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीले साइबर सुरक्षाबारे नेपालमा भइरहेको काम कारबाहीबारे बिफ्रिङ गरेका थिए ।

बैठकमा साइबर सुरक्षाको क्षेत्रलाई बलियो बनाउने गरी कानुनी, नीतिगत र संस्थागत प्रबन्ध गर्न एउटा छुट्टै कार्ययोजना बनाएर लागू गर्ने निर्णय गरिएको छ  । बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सरोकारवाला मन्त्रालयका मन्त्री र साइबर सुरक्षाको क्षेत्रमा कार्यरत सुरक्षा निकायका प्रमुख तथा विभागका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *