विपद् प्रभावित कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन थप ३० दिन

काठमाडौं । प्राकृतिक विपत्तिका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेस गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सरकारले थप ३० दिनको समय दिएको छ।

राष्ट्रिय किताबखानाका अनुसार २०८३ भदौ १० गतेको रसुवा भोटेकोशी बाढीका कारण सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेका स्थानमा कार्यरत कर्मचारीले यो सुविधा पाउनेछन्। त्यस्तै, राहत, उद्धार तथा व्यवस्थापनका लागि सो क्षेत्रमा काजमा खटिएका निजामती कर्मचारी, नेपाल प्रहरी तथा शिक्षकलाई समेत म्याद थप लागू हुनेछ।

भदौ ३० गतेदेखि लागू हुने गरी थपिएको ३० दिने म्यादअनुसार सम्बन्धित कर्मचारीले असोज २८ गतेसम्म सम्पत्ति विवरण पेस गर्न सक्नेछन्।

तर थपिएको समयभित्र विवरण पेस गर्दा विपद्का कारण निर्धारित समयमा सम्पत्ति विवरण बुझाउन नसकेको स्पष्ट कारण खुलाइएको सम्बन्धित कार्यालय प्रमुखबाट जारी आधिकारिक सिफारिसपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।

राष्ट्रिय किताबखानाले सम्बन्धित सबै राष्ट्रसेवक कर्मचारीलाई थपिएको म्यादभित्र आवश्यक कागजातसहित सम्पत्ति विवरण पेस गर्न अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *