काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन यतिखेर अनियमितताको अखडा बन्न पुगेको छ । गुणस्तरीय अत्यावश्यक खाद्य वस्तुहरु सुलभ मूल्यमा सहजताका साथ उपलब्ध होस् भन्ने उद्देश्यले स्थापित यस सस्थामा यतिबेला ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं भएको छन । कम्पनीले सर्वसाधारणले पाउने र पाइरहेको सेवा सुधारमा कुनै ख्याल नगरी पावर र पहुँचका आडमा माथिल्ला ओहोदाका कर्मचारीहरुले आफ्नो स्वार्थ सिद्ध गरिरहेको पाईएको छ । यस विषयमा यही जेठमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा समेत प्रश्न उठाइएको थियो ।
कम्पनीले स्थापनाको मर्म र उद्देश्य विपरित नुन चिनी,युरिया मल जस्ता सामग्री विक्री वितरणमा अनियमितता गरेको बारम्बार भेटिएकाे छ । तथापी अनियमितता गर्नेलाई कारबाही भने गरिँदैन । त्यस्तै जथाभावी कार्यक्षेत्रभन्दा बाहिर गएर सञ्चालक र व्यवस्थापनको स्वार्थ अनुकुल करारमा कर्मचारी भर्ती गर्ने कामलाई निरन्तरता दिइराखिएकाे छ । जवकि नयाँ संविधानले स्पष्ट रुपमा सरकारी कार्यालय र सरकारी स्वामित्व भएका सार्वजनिक संस्थानहरुले समेत खुला प्रतिस्पर्धाबाट मात्र कर्मचारी भर्ना गर्न पाउने व्यवस्था गरेको छ ।
साल्ट ट्रेडिङमा अनियमितताका श्रृङ्खला
आम नागरिकलाई बजारमा नुन, चिनी संकट परेको अवस्थामा सहज रूपले उपलब्ध गराउने शर्तमा सरकारले अन्य व्यवसायीलाई भन्दा कर्पोरेसनलाई विशेष भन्सार छुटमा यी वस्तु आयातको सुविधा दिने गर्छ । नेपाल सरकार र साल्ट ट्रेडिङको सम्झौता अनुसार विकट मानिएका जिल्लाहरुमा ढुवानी गर्दा लाग्ने खर्च नेपाल सरकारले साल्ट ट्रेडिङलाई उपलब्ध गराउने भन्ने सम्झौता भएपनि साल्ट ट्रेड्रिङले ढुवानी सहज भएका क्षेत्रमा पनि ढुवानी खर्च नेपाल सरकारबाट नै असुल उपर गर्दै आएको छ ।
कर्पोरेसनको गोदामबाटै बेला बेला नुन र चिनी बिक्री वितरणमा अनियमितता हुने गरेकाे घटना सार्वजनिक भइरहेका छन् । २०६८ सालमा साल्ट ट्रेडिङ कर्पोरेसनको काठमाडौंस्थित मुख्य कार्यालयको गोदामबाट ठूलो परिमाणमा चिनी गायब भएको थियो । त्यति ठूलो अनियमितता हुँदाहुँदै त्यसको प्रमुख जिम्मेवारी लिने विभागीय प्रबन्धकलाई भने उल्टै उतिखेर बिनाप्रतिस्पर्धा बढुवाको तयारी गरिएको भन्दै कम्पनीभित्रै निकै हलचल भएको थियो । त्यसैताका भैरहवाको गोदामबाट काठमाडौंका लागि पठाइएको नून बुटवलको रामापुरमा झार्दै गर्दा कर्मचारीहरुलाई पक्राउ गरिएको थियो । उक्त घटनामा स्थानीय अञ्चल प्रमुखदेखि केन्द्रका पदाधिकारीहरूको मिलोमतो रहेको खुलेपनि भैरहवाका स्टोर किपर रामबाबु गुप्तालाई मात्रै कारबाही गरेर घटना ढाकछोप गरिएको कर्मचारीहरू बताउँछन् ।
त्यस्तै नुन र त्यसको ढुवानीमा विकट जिल्लाहरुमा हुने घोटालाका सूचना कर्पोरेसनमा बारम्बार आइरहन्छन् तर तिनलाई बेवास्ता हुने गरेको स्रोतको भनाई छ । नारायणगढ कार्यालयबाट बिक्री गरेको नुनलगायत अन्य सामानहरूको रकम आफ्नो खातामा राखेर महिनौं पैसा चलाउने त्यतिबेलाका सहायक प्रबन्धक दिनेशचन्द्र शर्मा हाल हिमालयन खाद्य व्यापार तथा कम्पनीका प्रमुखका सम्बन्धमा पर्याप्त प्रमाण भेटिँदा पनि उनिमाथि अनुसन्धान बढाएझैं गरी घटनालाई माथिल्ला तहका कर्मचारीको मिलेमतोमा सामसुम पारिएको थियो ।
त्यतिमात्र होईन, नेपालका लागि आयात गरिने नुन कुन गुणस्तरको हो, खाध्य या आखाद्य कस्तो प्रकृतिको हो भन्ने सम्मको नापजाँच साल्ट ट्रेडिङले गरेको देखिदैन । नापजाँच गर्नका लागि भनेर बिरगञ्ज, बिराटनगर धनगढी लगायत केही स्थानमा परीक्षण केन्द्र स्थापना गरिएको त छ, तर परीक्षण गर्ने जनशक्ति ल्याब लगायत कुनै संयन्त्र नै छैन । नुनको गुणस्तर समेत सेटिङमा साल्ट ट्रेडिङले गुणस्तर नापतौल विभागबाट नक्कली परीक्षण प्रतिवेदन बनाएर देखाउने गरेको साल्ट ट्रेडिङमा कार्यरत कर्मचारी बताउँछन् । गुणस्तरीय नुन वितरणका लागि एकाधिकार पाएकाे एक मात्र डिपो साल्ट ट्रेडिङ र नेपाल सरकारबीच हरेक पाँच वर्षमा सम्झैता त हुने गर्दछ । तर जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाने नुनमा कैफियत भेटिएमा कारबाहीमा पर्ने र सम्झौता रद्द हुने डरले साल्ट ट्रेडिङले गुणस्तरको नक्कली प्रतिवेदन बुझाउने गरेको सम्बद्ध स्रोत बताउँछ ।
साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीमा दुई वर्ष अगाडि २०७७ असोजमा ५५ हजार बोरा ‘आयो नुन’ बनाउनका लागि ल्याइएको फ्रिफ्लो नुन जाँच गर्दा माटो मिसिएको भेटिएको थियो । साल्ट ट्रेडिङ धनगढीले नुन सेवन गरे क्यान्सर र मुटु रोग लाग्ने भन्दै उक्त नुन प्याकिङ गरेर बजारमा बेच्न नसक्ने भनि जानकारी गरायो । नुन भारत नै फिर्ता लान भनियो। तर, भारतीय व्यापारीले कोरोनाको बाहना बनाएर नुन लगेन। उक्त नुन पूनः बिक्रीका लागि पछि केन्द्रीय कार्यालयका उच्च अधिकारीहरु लागि परेकाे भेटिएपछि अखाद्य नुन भण्डारण गरेको भन्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढी विरुद्ध मुद्दा समेत दर्ता भएको थियो ।
पहाडी भेगमा पुग्दैन पर्याप्त नुन
नेपालमा प्रयोग हुने नुन भारतको गुजरातस्थित खाडाघोडाबाट आयात गरिन्छ । नेपालका पहाडी र दुर्गम जिल्लाहरुमा अझै पनि आवश्यक मात्रामा नुन नपुग्ने गरेको स्थानियको गुनासो छ । पुगेका नुनमा पनि प्रति प्याकेट १०० भन्दा बढी तिरेर खरिद गर्नुपर्ने गुनासो बारम्बार सुनिने गरेको छ । एक त उक्त क्षेत्रमा माग अनुसारको आपूर्तिनै हुँदैन, त्यसमा पनि पहुँचका आधारमा कहाँ नुन कसरी वितरण गर्ने भन्ने तय गरिने स्थानीयहरु बताउँछन् । सय क्विन्टल बराबरको नुन माग गरिएको जिल्लाहरुमा त्यसको आधा मात्रै पठाएकाे देखाइन्छ । बाँकी नुन साल्ट ट्रेडिङले नै महंगो मूल्यमा पसले, दलका नेताहरुलाई महंगोमा बिक्री गर्ने गरेकाे विकट जिल्ला बझाङ जिल्ला साइपाल गाउँपालिकाकी उपप्रमुख डोल्मा तामाङ बताउँछिन् । अझ यतिसम्मकी सीडीओको हस्ताक्षरमा पुग्दै नपुगेको नुन समेत रुजु भिडानमा पुगेको भन्ने बनाइन्छ ।
कर्मचारी नियमावली विपरित नियुक्ती प्रक्रिया
२०७२ सालको संविधानपछि मुलुकका सबै सरकारी एवं अर्धसरकारी कार्यालय तथा संस्थानहरुमा समेत खुला प्रतिस्पर्धा प्रकृयामा गएर मात्र कर्मचारी भर्ना गर्न पाइने व्यवस्था गरिएको छ । तर साल्ट ट्रेडिङमा भने यो नियम लागू हुँदैन । शुरुदेखि नै तानाशाह प्रवृत्ति हावी भइरहेको यस संस्थामा सञ्चालकहरुले मनलाग्दी आवश्यकता भन्दा बढी कर्मचारी भर्ना गर्ने,आफ्नो गुटका रिटायर्ड भैसकेका कर्मचारीलाई समेत करारमा म्याद थप गर्दै, कर्मचारी नियमावली भन्दा बाहिर रहेर विधी र प्रकृया विपरितका कार्यहरु गर्दै आइरहेका छन् । साल्ट ट्रेडिङमा नेपाल सरकारको तर्फबाट एक जना सञ्चालक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट सहसचिव नियुक्त हुने गर्छन् । सो व्यक्तिले कर्मचारी भर्नादेखि नुनको गुणस्तरमा समेत सेटिङ मिलाउने गरेको स्रोतको भनाई छ ।
तानाशाही प्रवृति र सीईओ श्रेष्ठको स्वेच्छाचारी भूमिका
साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यकारी भूमिकामा रहेकी सीईओ उर्मिला श्रेष्ठलाई तानाशाही शैली अपनाउने गरेको आरोप लाग्दै आएको छ । संस्थामा आवद्ध कर्मचारी र पूर्व कर्मचारीहरुले अनियमितता र चलखेलमा लिप्त श्रेष्ठ हुकुमी शैली अपनाउने, कर्मचारीहरुको कुरा नसुन्ने गरेको बताउँछन् । सीइओ उर्मिला श्रेष्ठका बुवा ईश्वरीलाल श्रेष्ठ साल्ट ट्रेडिङका संस्थापक सञ्चालक हुन् । उनकै आशिर्वादमा उर्मिलाले साल्ट ट्रेडिङमा जागिर पाएकी हुन् । स्वार्थ बाझिने गरी एका घरका परिवारलाई नियुक्ती दिइएको भन्दै उतिबेलै ईश्वरीलाल श्रेष्ठ छोरी उर्मिलाको नियुक्तीका विषयलाई लिएर निकै आलोचित बनेका थिए । बलमिच्याइँ गर्दै जागिर खाएकी उर्मिलानै अहिले साल्ट ट्रेडिङको सीईओको पदमा छिन् । उनी आफु जसरी संस्थामा आइन् त्यही शैलीलाई निरन्तरता दिँदै आफुखुशी संस्थामा कर्मचारी भर्ना गर्दै आएकी छिन् । त्यसो त अहिले साल्ट ट्रेडिङमा स्थायी भन्दा करारका कर्मचारी बढी छन् ।







