काठमाडौं । पार्टी संगठनको हितविपरीत अराजक गतिविधि मच्चाउँदै हिँड्नेलाई नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संरक्षण गर्ने गरेको खुलेको छ। राप्रपा मोरङ जिल्ला कार्यसमितिले साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरेको पार्टीका बेलबारी नगर उपाध्यक्ष पर्शु सुवेदीलाई लिङ्देनले संरक्षण गरेको पाइएको हो ।
राप्रपा मोरङका जिल्ला अध्यक्ष माधवप्रसाद आचार्यले कारबाहीका लागि तत्कालीन समयमा निकालेको विज्ञप्तिमा सुवेदीका अराजक गतिविधिहरुबारे उल्लेख गरिएको छ । पार्टीको बैठकमा पदीय मर्यादाको पालना नगरेको, गुटबन्दी गर्दै हिँडेको र पार्टीका मोरङ ३ का अध्यक्ष तथा अग्रज नेता बागदल अधिकारीलाई अंगभंग हुने गरी कुटपिट गर्नुका साथै गत आमनिर्वाचनमा मोरङ ३ मा पार्टीका उम्मेदवारविरुद्ध भाम्रक पर्चा फालेर असहयोग गरेको आरोप सुवेदीमाथि छ ।
तर, उनै सुवेदीलाई कार्यकर्ताको भावनाविपरीत अध्यक्ष लिङ्देनले बोकेर हिँडेको राप्रका स्थानीय कार्यकर्ताको आरोप छ । ‘पार्टीलाई भाँडभैलो र बदनाम बनाउनेलाई संरक्षण गरेर हिँड्दा साह्रै अपमानित भएका छौं । पार्टी हामीलाई निल्नु न ओकल्नु भएको छ’, स्थानीय कार्यकर्ताको भनाइ छ ।
उनै पर्शु सुवेदी लगायतले विराटचौकमा असार ३० गते कार्यक्रम गर्ने बताइएको छ । उनीहरुले गर्ने कार्यक्रममा अधिकांश कार्यकर्ताहरु सन्तुष्ट छैनन् । कार्यक्रममा केन्द्रीय अध्यक्ष लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही जाने बताइएको छ ।
कानेपोखरीका एक युवा नेताले भने, ‘पार्टीमा शुद्धिकरण आवश्यक छ, तर पार्टीमा अराजक गतिविवि गर्नेहरुलाई कारबाही गर्नुपर्नेमा उनीहरुलाई नै संरक्षण गर्दै कार्यक्रमको आयोजना गरिन्छ, लाजमर्दो भयो।’




