एजेन्सी । सोमवार पाकिस्तानको प्रमुख शेयर परिसूचक २ हजार अंकभन्दा धेरैले बढेको छ । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग वित्तीय उद्धार सम्झौता भएपछि हप्ताको पहिलो दिनको कारोबार बजारमा व्यापक वृद्धि देखिएको हो ।
सोमवार बिहानी ९ः३० बजे केएसई–१०० परिसूचक शुक्रवार बजार बन्द हुँदाको तुलनामा २ हजार २६९ दशमलव २३ अंकले बढेर खुलेको थियो । सूचकले माथिल्लो सर्किट छोएपछि एक घन्टाका लागि कारोबार बन्दसमेत भयो ।
बिहान ११ः३० बजे सूचक अर्को २ हजार ४१४ अंकले बढेर ४३ हजार ८६७ मा उक्लिएको थियो । अंकको आधारमा यो वृद्धि अहिलेसम्मकै धेरै हो । बजारले वृद्धि कायम गर्न सक्यो भने प्रतिशतका आधारमा समेत यो सन् २००९ को मार्चयताकै उच्च एक दिने वृद्धि हुनेछ । आजको वृद्धि पाकिस्तान स्टक एक्सचेञ्जको इतिहासकै सबैभन्दा धेरै हुन सक्ने टपलाइन सेक्युरिटिजले एक ट्विटमा भनेको छ ।
अटो निर्माताहरूको शेयर मूल्य ६ प्रतिशतदेखि साढे ७ प्रतिशतले बढेको छ । आईएमएफसँगको सम्झौतापछि आयातमा लगाएको प्रतिबन्ध हट्ने आशाले पनि शेयर बढेको हो । पाकिस्तान र आईएमएफबीच वित्तीय उद्धारबापतको रकम फुकाउने विषयमा सहमति नभए पाकिस्तान डिफल्टमा जाने अनि आर्थिक कठिनाइ झनै चुलिने भयले लगानीकर्ताहरू डराएका थिए ।
शुक्रवार आईएमएफ र पाकिस्तानबीच ३ अर्ब डलरको छोटो अवधिको वित्तीय प्याकेज उपलब्ध गराउने सहमति भएको थियो । यो प्रस्तावलाई कोषको सञ्चालक समितिले जुलाईमा अनुमोदन गर्नु पर्नेछ । सहमति ८ महीना ढिला भएको छ । रकमको यो आकार पाकिस्तानले आशा गरेको भन्दा धेरै हो ।
सन् २०१९ मा भएको वित्तीय उद्धारको प्याकेजको २ किस्ता गरेर अब जम्मा २ अर्ब ५० करोड डलर मात्रै बाँकी थियो । यो सम्झौताको म्याद गएको हप्ता नै सकिएको थियो । पाकिस्तानलाई आईएमएफले ९ महीनाका लागि ३ अर्ब डलर दिएको हो ।




