काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनैपनि बैंक तथा वित्तीय संस्थालाई आधार दरमा दुई प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्न निर्देशन दिएको छ । राष्ट्र बैंकले २०७९ साउन १८ गते जारी गरिएको निर्देशनबमोजिम ब्याजदर निर्धारण गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो।
राष्ट्र बैंकले २ करोड रुपैयाँसम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी उत्पादनमा आधारित उद्योग, हस्तकला लगायत व्यवसाय सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्नुपर्ने व्यवस्था गरेको हो ।
तर, कतिपयले बढी ब्याज लिएर ऋण प्रवाह गरेको गुनासो आएपछि राष्ट्र बैंकले सूचना नै जारी गरेर सचेत गराएको हो ।
यदि कसैले यस किसिमको कर्जा लिइसकेको वा लिने तयारी भइरहेको छ भने आधार दरमा २ प्रतिशतभन्दा बढी प्रिमियम थप गरी ब्याजदर निर्धारण भएको छ भने सम्बन्धित संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।





