किशोर श्रेष्ठ र हिमेश पन्त साइबर ब्युरोमा, एकै दिन एकअर्काविरुद्ध उजुरी

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा कमेडियन हिमेश पन्त एकै दिन एकअर्काविरुद्ध साइबर ब्युरो पुगेका छन्। जग्गासम्बन्धी समाचार र त्यसपछि सामाजिक सञ्जालमा भएका टिप्पणीलाई लिएर उनीहरूबीच विवाद चर्किएको हो।

जनआस्था साप्ताहिकले हिमेशको परिवारले अरूको जग्गा अनधिकृत रूपमा कब्जा गरेको आरोपसहित समाचार प्रकाशित गरेपछि विवाद सुरु भएको हो। उक्त समाचार भ्रामक, कपोलकल्पित र बदनियतपूर्ण रहेको दाबी गर्दै पन्तले साइबर ब्युरोमा उजुरी दिएका छन्। समाचारले आफ्नो व्यक्तिगत चरित्रहत्या गरेको, व्यावसायिक निष्ठामा आघात पुर्‍याएको र राजनीतिक जीवन ध्वस्त पार्ने उद्देश्य राखेको उनको आरोप छ।

पन्तको उजुरीपछि जनआस्थाका प्रधान सम्पादक श्रेष्ठले पनि उनीविरुद्ध उजुरी दिएका छन्। जनआस्था अनलाइनमा प्रकाशित समाचारलाई लिएर पत्रकारमाथि अश्लील गालीगलौज गर्दै फेसबुकमा आपत्तिजनक सामग्री पोस्ट गरिएको आरोप लगाउँदै श्रेष्ठले विद्युतीय कारोबार ऐनअनुसार कारबाहीको माग गरेका हुन्।

पन्तले फेसबुकमा श्रेष्ठलाई लक्षित गर्दै ‘ब्ल्याकमेलरले दसैँ राम्रै मनाउने भो’, ‘कति करोडको खेल हो फेरि’ र ‘मलाई पनि ब्ल्याकमेलिङ गर्ने हो क्या हो, गुहार गुहार सरकार’ जस्ता टिप्पणी गरेका थिए। यिनै अभिव्यक्तिलाई लिएर श्रेष्ठले कानुनी उपचार खोजेका हुन्।

जनआस्थाले यसअघि आफ्नो अनलाइन पोर्टल र फेसबुक पेजमा ‘हिमेश, अरूको सम्पत्ति हडप्नेले कस्तो सुशासन सिकाउने ?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। उक्त समाचारमा धादिङको थाक्रे गाउँपालिका–१० का तिलकप्रसाद बिडारीले हिमेशका बुबा सुब्बा पन्तसँग खरिद गरेको साढे चार रोपनी जग्गा राजनीतिक पहुँचको आडमा भोगचलन गर्न नपाएको आरोप उल्लेख गरिएको थियो।

तर, हिमेशले उक्त आरोपको खण्डन गर्दै फेसबुकमार्फत लामो स्पष्टीकरण दिएका छन्। उनका अनुसार उक्त जग्गा बुबाले बिक्री गरेका नभई बन्धकीमा राखेका थिए। यसरी जग्गाको स्वामित्व र कारोबारसम्बन्धी विषयलाई लिएर सुरु भएको विवाद अहिले सामाजिक सञ्जाल हुँदै साइबर ब्युरोसम्म पुगेको छ।

दुवै पक्षले एकअर्काविरुद्ध उजुरी दिएसँगै घटनाले कानुनी रूप लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *