सहकारी क्षेत्रकै ठूलो घोटाला : १४ अर्ब रुपैयाँ ठगेर फरार रहेका सञ्चालक भारतबाट पक्राउ

काठमाडौं । बचतकर्ताको अर्बौ रकम हिनामिना गरेर फरार रहेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा अन्तत प्रहरीको फन्दामा परेका छन् । सहकारीको रकम हिनामिना गरी भारत फरार भएका शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले पक्राउ गरेको हो ।

उनी शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी सहकारीका सञ्चालक हुन् । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम शर्माले कानुन विपरीत आफ्ना विभिन्न कम्पनी तथा फर्ममा लगानी गरेको पाइएको प्रहरीले जनाएको छ । बचतकर्ताको पैसा आफ्नो व्यक्तिगत व्यवसायमा दुरुपयोग गरेपछि दुवै सहकारीले विगत एक वर्षदेखि बचत पैसा फिर्ता गर्न नसकेको हो ।

शिवशिखर सहकारीले देशभर ३५ शाखा कार्यालयमार्फत रकम संकलन गरेको थियो । बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकहरुविरुद्ध सहकारी विभाग र सिआइवीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा केही व्यक्ति यसअघि नै पक्राउ परे पनि उनी फरार थिए ।

शर्माले शिवशिखर बहुउद्देश्यीय तथा तुलसी सहकारीमार्फत् बचतकर्ताको करिब साढे १५ अर्ब रकम अपचलन गरेको पाइएको छ । यो सहकारी क्षेत्रकै सबैभन्दा ठूलो घोटाला हो । यसअघि पनि ओरेन्टल सहकारी र सिभिल सहकारीले सर्वसाधारणको अर्बौ रुपैयाँ अपचलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *