काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ आज बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको आईपीओ आईपीओ काठमाडौंको ठमेलस्थित होटेल अलफ्टमा बाँडफाँट गरिएको हो ।
आईपीओ बाँडफाँट कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । नेपाल सरकारका गृहमन्त्रीसमेत रहेका श्रेष्ठले नै आईपीओ लागि बल पनि तानेका थिए ।
धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार आईपीओमा कुल १२ लाख ९९ हजार ७ सय २७ जना आवेदकबाट कुल १ करोड ४१ लाख ९ हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १२ लाख २७ हजार ५ सय ६९ जना आवेदक मात्र सेयर पाउन योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा ७१ हजार १ सय ५८ जनाको आवेदन रद्द भएको छ। माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको छ ।
जस अनुसार गोलाप्रथाबाट ३ लाख ६१ हजार ९ सय ८९ जनाले सेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता सेयर र बाँकी ३ लाख ६१ हजार ९ सय ८८ जनाले १० कित्ता सेयर पाएका छन् । यस हिसाबले सदर आवेदकमध्ये ८ लाख ६५ हजार ५८० आवेदकको हात खाली भएको छ।
मागभन्दा ३.७ गुणाले बढी आवेदन पारीको कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो ।
यो कम्पनीले गत जेठ २६ गते जेठ ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री गरिसकेको थियो।
यसैगरी ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३५ लाख २५ हजार ९३० कित्ता र कर्मचारीलाई खुलाइएकोमा बाँकी रहेको ९३ हजार ९६१ गरी कुल ३६ लाख १९ हजार ८९१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक, धितोपत्र निष्कासन गर्ने कम्पनी र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




