


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तको योगदान भुल्न नहुने बताएका छन् । आगामी मौद्रिक नीतिबारे नेपाल व्यवस्थापन संघले बिहीबार आयोजना गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले कोही सडकमा आएर कराए भन्दैमा वित्तीय क्षेत्रमा यसले पुर्याएको योगदान भुल्न नहुने बताए ।
‘ऋण लिएर पीडित कोही हुँदैन, ऋण लिने लाभग्राही हो । कोही सडकमा आएर कराउँदैमा त्यसको योगदानलाई भुल्न हुँदैन, हामी यसलाई नियमनमा ल्याउँछौं’, उनले भने, ‘ऋण लिएपछि तिर्नुपर्छ । ऋण लिएर कोही कमजोर हुँदैन ।’
आगामी मौद्रिक नीति कडा आउने संकेत गर्दै उनले कोभिड–१९ महामारीका बेला खुला मौद्रिक नीति आएको बताए । आर्थिक पुनरुत्थानका लागि सरकारसँग कम स्रोत भएका बेला खुकुलो मौद्रिक नीति आएको उनको भनाइ छ ।
सो बेला निजी क्षेत्रमा कर्जाको रि–पेमेन्टका लागि गाह्रो अवस्था रहेको र चालुपूँजीको चेन ब्रेक भएको बताए । सोही अनुसार थप चालुपूँजी र कर्जा पुनर्संरचना गर्नुपर्ने अवस्था आएको भन्दै उनले सोही अनुसार पुनर्कर्जा दिएको बताए । अहिले पनि त्यही सुविधाको आकांक्षा दखिएको उनले बताए ।
केन्द्रीय बैंकको पहिलो दायित्व मुद्रास्फीति नियन्त्रण, बाह्य क्षेत्र स्थायित्व र वित्तीय स्थायित्व रहेको उनले बताए । त्यसपछि सरकारका कार्यक्रममा सहयोग गर्ने उनको भनाइ छ ।

अर्थ सन्जाल