काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिबाट धेरै सुविधा नखोज्न आग्रह गरेका छन् । म्यानेजमेन्ट एसोसिएसन नेपाल म्यानले मौद्रिक नीतिका लागि आवश्यक सुझाव माग गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् ।
गभर्नर अधिकारीले मौद्रिक नीतिको पहिलो प्राथमिकता मुद्रास्फिती नियन्त्रण गर्ने र बाह्य क्षेत्रको स्थायित्व कायम गर्ने रहेको बताउँदै सरकारले ल्याएको बजेटलाई साथ दिने गरी मोैद्रिक नीति ल्याइने बताए । उनले भने –‘कोभिडको विषम परिस्थितिमा दिएको सुविधा आगामी मौद्रिक नीतिमा पनि निरन्तरता हुन्छ भनेर अपेक्षा नगर्दा हुन्छ।,असहज अवस्थामा दिएको सुविधा सहज हुँदा खोज्नु अनावश्यक महत्वाकांक्षा हो ।’

गभर्नर अधिकारीले आगामी मौद्रिक नीति कडा आउने संकेत समेत गरेका छन् । उनले कोभिड-१९ महामारीका बेला खुला मौद्रिक नीति आएको र आर्थिक पुनरुत्थानका लागि सरकारसँग कम स्रोत भएका बेला खुकुलो मौद्रिक नीति आएको उनको भनाइ छ ।
त्यस्तै उनले लघुवित्तका विषयमा अध्यनन भइरहेको बताए ।कोही सडकमा आएर कराए भन्दैमा लघुवित्तको योगदान भुल्न नहुने उनको भनाई छ । ‘ऋण लिएर पीडित कोही हुँदैन, ऋण लिने लाभग्राही हो । कोही सडकमा आएर कराउँदैमा त्यसको योगदानलाई भुल्न हुँदैन, हामी यसलाई नियमनमा ल्याउँछौं । ऋण लिएपछि तिर्नुपर्छ । ऋण लिएर कोही कमजोर हुँदैन ।’ उनले भने






