काठमाडौं । तिहारको सार्वजनिक बिदामा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। आयात–निर्यात कारोबार तथा भन्सार जाँचपास प्रक्रिया प्रभावित हुन नदिन नेपाल राष्ट्र बैंकले बिदाको अवधिमा समेत बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै भन्सार कार्यालयमा रहेका बैंक शाखाहरूलाई तिहार बिदाका दिन पनि आवश्यक सेवा उपलब्ध गराउन भनेको हो। व्यापार सहजीकरण र वस्तुको आपूर्ति प्रणालीलाई नियमित राख्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार मालवस्तुको भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ कारोबार बिदाको समयमा पनि नियमित रूपमा सञ्चालन गर्नुपर्नेछ। यसका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्ना भन्सार कार्यालयस्थित शाखाबाट सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्नेछ।
सरकारले आगामी कात्तिक २२ देखि २६ गतेसम्म तिहारको सार्वजनिक बिदा दिएको छ। उक्त अवधिमा सर्वसाधारणका लागि बैंकिङ सेवा बन्द रहे पनि भन्सार कार्यालयमा रहेका बैंक शाखाबाट भने जाँचपाससँग सम्बन्धित कारोबार गर्न सकिनेछ।
तिहार बिदाका कारण भन्सार जाँचपासमा ढिलाइ हुँदा आयातित वस्तुको आपूर्ति र व्यापारिक गतिविधिमा पर्न सक्ने असर न्यूनीकरण गर्न राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।




