काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला बन्द गराएको छ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले आयोजना गरेको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको हो।
सहमतिविपरीत एसईई र प्लस टु को रिजल्ट प्रकाशन हुनु अगाडि नै शैक्षिक मेलाको नाममा शुल्कसहित कलेजहरुको विज्ञापन गरेको भन्दै महानगरले शैक्षिक मेला बन्द गराएको हो।
एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको थियो। असार ३ गते आइतबारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू राखिएका थिए भने मेलामा निःशुल्क प्रवेश गर्ने व्यवस्था समेत मिलाइएको थियो।
सभामुख देवराज घिमिरेले उद्घाटन गरेको उक्त मेलालाई महानगरका प्रहरी प्रमुख राजु पाण्डेसहितको नेतृत्वमा गएको प्रहरी टोलीले बन्द गराएको हो।






