श्रीराम सुगर मिल्सले बैंकको ३८ करोड ऋण तिर्न सकेन, सम्पत्ति लिलामीमा

काठमाडौं । नेपाल बैंकले ऋण तिर्न नसकेपछि श्री राम सुगर मिल्सको सम्पत्ति लिलामीमा राखेको छ । श्रीराम सुगर मिल्सले ३८ करोड रुपैयाँ ऋण नतिरेपछि बैंकले सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको हो ।

बैंकले गरुडा नगरपालिका वडा नम्बर ६ मा रहेको श्रीराम सुगर मिल्सले ३८ करोड ११ हजार ७५५ रुपैयाँ बराबरको मिलमेसिनरी लिलामीमा राखेको जनाएको छ । सुगर मिल्ससँग सम्बन्धित मिलमेसिनरी बोलकबोलमार्फत ३५ दिनभित्र लिलाम बिक्री गरिने बैंकले जनाएको छ ।

मिलले बैंकलाई तिर्नुपर्ने कर्जा तिर्ने विषयमा सर्त बन्देज पालना नगरेको र कर्जा लिखतको सर्त बन्देज उल्लंघन गरेकाले यी बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ ले दिएको अधिकार प्रयोग गर्दै मिलको नाममा रहेका मिलमेसिनरी जेजस्तो अवस्थामा छ, सोही अवस्थामा सहवित्तीयकरण आफैंले लिलाम बिक्री गर्न लागिएको हो । ३६औं दिन अर्थात् साउन ४ गते बोलकबोल खुला गरिनेछ ।

सुगर मिल्समा नेपाल बैंकसँगै राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चाय कोष, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक)को पनि ऋण लगानी रहेको छ ।

उक्त मिल्समा व्यापारिक घराना गोल्छा अर्गनाइजेसन र विशाल ग्रुपको लगानी रहेको छ । हितेश गोल्छा र विशाल अग्रवाल यस कम्पनीको सञ्चालक हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *