


काठमाडौं । अवैध डिजिटल कारोवारमा संलग्न भएको आरोपमा प्रहरीले कलाकार मरिचमान श्रेष्ठ उर्फ ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’ भनेर चिनिने राजु पौडेल लगायतका ८ जनालाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालका भिडिओहरूमार्फत ‘वानएक्स बेट’को विज्ञापन गरेको र सट्टेबाजी गरेको आरोपमा अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
नेपालको कानूनले सट्टेबाजी तथा अनलाइन क्यासिनोलाई नेपाली नागरिकका लागि पूर्ण रूपमा बर्जित गरेको छ ।
यसअघि बुधबार मात्र यसै प्रकरणमा अनलाइनमार्फत जुवा खेलाउने गिरोहका पाँच जना पक्राउ परेका थिए । विश्वभर सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरूमध्ये एकै व्यक्तिले विभिन्न व्यक्तिका कागजात प्रयोग गरी ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

अर्थ सन्जाल