इप्पानमा दुई पक्षबीचको चरम विवाद अदालतसम्म पुग्यो,षड्यन्त्र भएको मल्ल समूहको निष्कर्ष

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)मा विवाद चर्किएको छ । बिहीबार हुने साधारणसभाबाट नयाँ कार्यसमिति चयन हुन लाग्दा दुई पक्षबीच चर्को विवाद देखिएको हो ।

इप्पानको निर्वाचन समितिले गणेश कार्कीलाई अध्यक्षमा स्वतः निर्वाचित भएको जनाएपछि अध्यक्षका अर्का प्रत्यासी किरण मल्लको समूह रुष्ट बनेको हो । योग्यता नपुगेको भन्दै निर्वाचन समितिले हालका महासचिव गोरे शेर्पा समर्थित मल्लको उम्मेदवारी खारेज गरेसँगै विवाद उत्कर्षमा पुगेको हो ।

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्य समर्थित कार्की नयाँ अध्यक्ष बनेका छन् ।यसैबीच मल्ल टिम अन्तरिम आदेश माग गर्दै उच्च अदालत पुगिसकेको छ ।

निर्वाचन समितिले भनेको छ, ‘निर्वाचन समितिले प्रकाशित गरेको सूचना, विद्युतीय माध्यमबाट गरिएका प्रत्राचारबमोजिम दाबी विरोधका सम्बन्धमा संस्थाको विधान तथा निर्देशिकामा भएको व्यवस्था बमोजिम योग्यतासम्बन्धी आवश्यक कागजात उपलब्ध गराउन भनिएकोमा तपाईँबाट सो बमोजिमको उम्मेदवारी कायम राख्नको निमित्त योग्यता पुग्ने कागजात पेश हुन नआएको हुँदा निर्वाचन सम्बन्धी निर्देशिका २०७६ (पहिलो संशोधन २०८०) को दफा ९ (ग) र संस्थाको विधान २०५७ (संशोधित विधान २०७८) को धारा १५ (११) बमोजिम तपाईँबाट मनोनय भएको उम्मेदवारी कायम नरहने गरी निर्वाचन समितिबाट निर्णय भएको व्यहोरा जानकारीको निमित्त अनुरोध छ ।’

तर यो षड्यन्त्रपूर्ण ढंगले गरिएको भन्दै मल्ल समूहले आपत्ति जनाएको छ । हालका महासचिव शेर्पाले विधानलाई अपव्याख्या गरेर, एक्लौटी रुपमा कार्यविधि पारित गरेर आफूहरुलाई जबरजस्ती अयोग्य सावित गरिएको बताएका छन् । ‘विधानलाई अपव्याख्या गरियो । कार्यविधिमा लेखिएको कुरा पनि विधानको मर्मविपरीत छ । आजको दिनलाई हामीले कालो दिन भनेका छौं’, उनले भने, ‘अब भोलि एजीएम छ । यसैगरी एक्लौटी ढंगले अगाडि बढिए भोलि जे पनि हुन सक्छ ।’

विधानको दफा १० र ११ मा के हुँदा अयोग्य हुने भन्ने स्पष्ट उल्लेख भए पनि त्यसविरुद्ध निर्वाचन समितिले आफूहरुलाई अयोग्य घोषणा गरिएको असन्तुष्ट समूहको भनाइ छ ।

उम्मेदवारी नै अयोग्य ठहरिएको मल्लको टिमबाट वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी सुर्यप्रसाद अधिकारीले हालको कार्यसमितिले अवैध रूपमा विधानको हवाला दिएर तयार गरेको निर्देशिका नै त्रूटीपूर्ण रहेको बताए । ‘संस्था नविकरण नै छैन, संस्था नै वैध नभई कसरी साधारणसभा र निर्वाचन प्रक्रिया अघि बढ्छ भन्ने हाम्रो माग हो, अधिकारीले भने,’विधानको अपव्याख्या गरि अघि बढाएका कुनै पनि कार्य स्विकार्य छैनन् ।’

उता महासचिव दाबी गरेका उर्जा व्यवसायी विनोद देवकोटाले निर्वाचनको प्रक्रिया पूर्व साधारणसभाले विधान संशोधन गरिनुपर्ने र कुनै व्यक्ति अनुकूल पद बाँड्न बनाइएको निर्देशिका खारेज हुनुपर्ने आफुहरूको माग रहेको बताए । स्वतन्त्र संस्थामा कसैको एकलौटी स्विकार्य छैन, देवकोटाले भने, ‘यस्तै अवस्था रहँदा कुनैपनि समयमा हामी अर्को वाध्यकारी निर्णय लिन पछि हट्ने छैनौं ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *