


काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा अपराह्न ४ बजे आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।
मागभन्दा बढी आवेदन परेकोले यस आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएकाे छ। यो आईपीओमा ११ लाख ८५ हजार २०६ आवेदकबाट कुल १ करोड २९ लाख ८६ हजार ३९० कित्ता सेयर माग भएको थियो । जसमध्ये १० लाख ७७ हजार ७४० आवेदकबाट परेको १ करोड १५ लाख ६४ हजार ५९० कित्तामात्रै योग्य भएको छ ।
बाँकी २ हजार ५४८ आवेदकबाट परेको ३० हजार ९४० कित्ता अयोग्य भएको छ । योग्य आवेदनमध्ये भाग्यमानी ६४ हजार ३६६ आवेदकले १० कित्ता दरले सेयर पाएका छन् । तिनै आवेदकमध्ये ७ जनाले थप १–१ कित्ता सेयर पाएका छन्।
कम्पनीले गत जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको अर्थात् १०० अंकित दरका कुल ८ लाख ४० कित्ता आईपीओ निष्काशन गरेको थियो। यस अघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका र आयोजना प्रभावित क्षेत्रका आइपिओ निष्काशन गरी बाँडफाँड गरिसेको छ ।
कम्पनीले स्थानीयले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको थियो। यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको थियो। बाँकी ६ लाख ४३ हजार ६६७ कित्तामा सर्वसाधारणलाई निष्काशन गरेको थियो ।
यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र निष्कासन गर्ने कम्पनी वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेन सकिनेछ।

अर्थ सन्जाल