नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न ‘भगीरथ प्रयास’ गरिरहेको अर्थमन्त्रीकाे दावी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट) बाट समयमै बाहिर निकाल्न सरकारले ‘भगीरथ प्रयास’ गरिरहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले ग्रे लिस्टबाट बाहिरिन आवश्यक सुधार तथा पहललाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन्। नेपाललाई चाँडोभन्दा चाँडो ग्रे लिस्टबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय समुदायसँग समेत निरन्तर पहल भइरहेको उनले जानकारी दिए।

नेपालको पक्षलाई अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रूपमा प्रस्तुत गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित पाँच–छ सदस्यीय टोली परिचालन गरिएको उनले बताए। उक्त टोली हाल मलेसियामा रहेर काम गरिरहेको जानकारी दिँदै वाग्लेले वित्तीय अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालको प्रगति र सुधारबारे अन्तर्राष्ट्रिय निकायलाई स्पष्ट रूपमा जानकारी गराउने काम भइरहेको बताए।

एफएटीएफको विषयमा अमेरिकी अर्थमन्त्रीसँग समेत भेटवार्ता गर्ने प्रयास भइरहेको उनले जानकारी दिए।

नेपाल समयमै ग्रे लिस्टबाट बाहिरिन नसके त्यसको प्रत्यक्ष असर मुलुकको अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयतामा पर्ने अर्थमन्त्री वाग्लेको भनाइ छ। यसबाट करेस्पोन्डेन्ट बैंकिङ, विदेशी लगानीको वातावरण तथा अन्तर्राष्ट्रिय पूँजी प्रवाहमा समेत असर पर्न सक्ने भएकाले सरकार यस विषयमा गम्भीर रहेको उनले बताए।

ग्रे लिस्टबाट बाहिरिन सरकारले गरिरहेको प्रयासबारे विभिन्न किसिमका अफवाह फैलाउने काम भइरहेको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई बेवास्ता गर्न आग्रह गरे। सरकारले आवश्यक सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको उनको दाबी थियो।

यसैबीच, प्राकृतिक विपद्बाट भएको क्षति तथा पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको उनले बताए। पुनर्निर्माणलाई क्षतिग्रस्त संरचना जस्ताको तस्तै बनाउने अवसरका रूपमा मात्र नलिई जलवायु उत्थानशील तथा दीगो पूर्वाधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने सरकारको नीति रहेको उनको भनाइ छ।

अर्थमन्त्री वाग्लेले मुलुकको आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए। लगानीमैत्री वातावरण निर्माणका लागि आफू अर्थमन्त्री बनेकै दिनदेखि नीतिगत सुधारको कामलाई प्राथमिकतामा राखेको उनले दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *