चापाकोट नगरपालिकाको जलपान खर्च मात्रै ६० लाख

स्याङ्जा । कुनै पनि कार्यालयको खाजाखर्च कति होला सजिलै अनुमान लगाउन सकिन्छ । कुनै विकास योजनाको बजेटजस्तै देखिने स्याङ्जा चापाकोट नगरपालिका कार्यालयको वार्षिक खाजा खर्च ५९ लाख ९४ हजार रुपियाँ रहेको छ । नगरपालिकाले खाजाखर्च शीर्षकमा निर्धारितभन्दा निकै बढी खर्च गरेको महालेखाले आंैल्याएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा खाजा, खाना तथा विविध खर्चमा झन्डै ६० लाख खर्च गरेको पाइएको छ ।

वर्षभरि कार्यालय खुलेको दिन हिसाब गर्दा यो खर्च धेरै देखिन्छ । नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा चापाकोट नगरपालिकामा रहेको होटेल कालीगण्डकी एन्ड लजलगायत विभिन्न ठाउँमा खाजा, खाना तथा विविध खर्चमा मात्रै ५९ लाख ९४ हजार रुपियाँ भुक्तानी गरेको पाइएको हो । महालेखापरीक्षकको कार्यालय, काठमाडौंले सार्वजनिक गरेको चापाकोट नगरपालिकाको पाँचौं वार्षिक प्रतिवेदन २०७९ अनुसार लेखापरीक्षणका क्रममा नमुना छनोटको आधारमा हेर्दा स्पष्ट प्रयोजन र आधार नखुलाई खाजा, खाना तथा विविध खर्च गरेको पाइएको भनिएको छ ।

खाजा खर्च मात्र होइन, भत्ता र यातायातमा पनि नगरपालिकाको खर्च अचाक्ली छ । प्रतिवदेनमा भनिएको छ– ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ मा सरकारी रकम खर्च गर्दा सो खर्चलाई पुस्ट्याइँ गर्ने प्रमाण कागजातसमेतको लेखा राख्नुपर्ने तर सोअनुसार भएको पाइएन ।’ नेपाल सरकारले जारी गरेको सार्वजनिक खर्चमा मितव्ययिता कायमसम्बन्धी मापदण्ड २०७७ को दफा २ मा सार्वजनिक निकाय तथा सार्वजनिक पद धारण गरेको व्यक्तिले सरकारी कामको सिलसिलमा खर्च गर्दा मितव्ययिता अपनाउनुपर्छ भनिएको छ ।

कार्यालय सामान, मसलन्द, पानी, बिजुली, इन्धन, विविध खर्चलगायतका शीर्षकमा खर्च गर्दा मितव्ययिता कायम हुने गरी खर्च गर्नुपर्ने व्यवस्था भएकोमा पालिकाले खाना, खाजा तथा अतिथि सत्कारका लागि ५९ लाख ९४ हजार खर्च गरेको छ । लेखापरीक्षणका क्रममा नमुना छनोटको आधारमा हेर्दा स्पष्ट प्रयोजन र आधार नखुलाई खर्च गरेको देखिन्छ । पालिकाले यसरी हुने खर्चमा नियन्त्रण गर्नुपर्दछ भनिएको छ ।

महालेखाले भनेको छ– ‘विवरण केलाउँदा पदाधिकारीले खाजा खर्च, बैठक भत्ता र सवारीसाधनमा गरेको खर्च अस्वाभाविक देखियो ।’ महालेखाले प्रयोजन नखुलाई गरेको विविध खर्चको उदाहरणहरूमा होटेल कालीगण्डकी प्रालिको मात्रै झन्डै १७ लाख बराबरको खर्च सार्वजनिक गरेको छ । खाजा, खाना तथा विविध खर्चमा २०७८ भदौ २३ गते ८८ हजार ७ सय ५०, सोही मितिमा ९८ हजार ७ सय ८२, भदौ २५ गते २ लाख ७६ हजार २ सय ७४, असोज १९ गते ३ लाख ८३ हजार ३, कात्र्तिक २ गते १ लाख ४१ हजार ८ सय ७०, पुस ५ गते ७५ हजार ६ सय ५, पुस ३० गते ९८ हजार ६ सय ५, माघ १३ गते १ लाख १३ हजार ४ सय ४९, फागुन १० गते २ लाख ७१ हजार ६ सय ३७ र फागुन २२ गते १ लाख ३१ हजार ५ सय ७० रुपियाँ खर्च भएको उल्लेख गरेको छ ।

महालेखाले उदाहरणका लागि मात्रै भनेर दिएको रकम मात्रै १६ लाख ७९ हजार ८ सय ६६ रुपियाँ रहेको छ । गत वर्षको महालेखाको प्रतिवेदनमा पनि होटेल कालीगण्डकीमा प्रयोजन नखुलाई खर्च गरेको र यसलाई नियन्त्रण गर्नुपर्छ भनेर सुझाव दिएको थियो ।

‘नगरपालिकाका पदाधिकारीहरूले जलपानमा मात्रै दैनिक २१ हजार ३ सय ३० खर्च गर्दा रहेछन् । आव २०७८÷७९ मा उनीहरूले गरेको ५९ लाख ९४ हजारलाई कार्यालय खुलेको दिनका दरले हिसाब गर्दा यो अंक निस्कन्छ । दिनमा कति वटासम्म बैठक बस्ने, मेयर÷उपमेयरले जलपानमा कतिसम्म खर्च गर्न पाउने भन्ने नगरपालिकासँग कुनै नियम रहेको भेटिएन । कर्मचारीहरू यतिविघ्न खर्च भयो होला भनेर पत्याउँदैनन्’, एक कर्मचारी भन्छन्– ‘मेयर र उपमेयरकोमा मान्छे त टन्नै आउँछन् । तर, जलपानमा यति धेरै खर्चचाहिँ अस्वाभाविक नै हो ।’नेपाल समाचारपत्र दैनिकबाट

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *