भन्दा/सुन्दा अचम्म लाग्न सक्छ महिनावारी भएको बेला देउता रिसाउने डरले शिक्षीका नै विद्यालय जाँदैनन् । तर, बाजुराको बडिमालिका नगरपालिका ८ मा रहेको श्री जनप्रकाश आधारभूत विद्यालय रतुडामा यस्तै हुने गरेको छ ।
रतुडामा रहेको विद्यालय देउताको ओहोर –दोहोर गर्ने मुख्य बाटोमा रहेकाले महिनावारी भएको समयमा देवता रिसाउने भन्दै शिक्षीकाहरु विद्यालय नजाने गरेको स्थानीयले बताउँछन् ।
कक्षा ३ सम्म सञ्चालनमा रहेको विद्यालयमा २ जना शिक्षिका र १ जना शिक्षक गरी ३ जना रहेका र दुबैजना शिक्षिका महिनावारी हुँदा पाँच दिनसम्म विद्यालय नजाने गरेको शिक्षिका नीरा बिष्ट बताइन् । महिनामा दुईजना शिक्षिका दश दिन विद्यालय आउँदैनन् भने महिनावारीकै कारण वर्षमा १ सय २० दिन अनुपस्थित हुने गरेका छन् ।
शिक्षिका नीरा बिष्टले महिनावारी भएको समय विद्यालय अनुपस्थित हुने गरेको स्वीकार गरिन् । स्थानीय महिला कोही पनि यो ठाउँमा नआउने गरेको उनको भनाइ छ । यो ठाउँमा देवतको थली रहेको र महिनावारी भएको समय आए अनिष्ट हुन्छ भन्ने भनाईका कारण पनि विद्यालय नजाने गरेको बिष्टको भनाइ छ । पुराना बुढापाकाहरुको भनाइका कारण आफूलाई पनि डर लागेर यो बाटोनै प्रयोग नगर्ने गरेको र विद्यालय नआउने गरेको नीराको भनाइ छ ।
शिक्षिका नियमित स्कुल नआएपछि बालबालिकाको पढाइै नै प्रभावित हुने गरेको स्थानीय गोरख बहादुर अयडीले बताए । हरेक महिनामा महिनावारी हुँदा शिक्षीका विद्यालय नआँउदा नानीबाबुहरु खेलेरै फर्कने गरेकाे उनकाे भनाइ छ ।
बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्टले यो विषय विगतदेखि नै छलफलमा रहेकाले देवताका धामी पुजारी, स्थानीय र महिला सबैलाई सामूहिकरुपमा राखेर यसको समाधान खोज्नु पर्ने उनले बताइन् ।
स्थानीय महिला तथा शिक्षिकाहरुले पनि आउने आँट नगरेको उपप्रमुख बिष्टको भनाइ छ । सामूहिक छलफलका माध्यमबाट समस्याको समाधान गर्नतर्फ लाग्ने बिष्टले बताइन् । आइतबार बडिमालिका नगरपालिकाकी उपप्रमुखको संयोजगत्वमा अनुगमनका क्रममा महिनावारी भएको समयमा शिक्षिका विद्यालयमा अनुपस्थिति हुने गरेको पाइएको थियो ।